महोत्तरीको जंगलमा सिकार गर्न गएका एक पुरुष भरुवा बन्दुकसहित पक्राउ

महोत्तरी, १ बैशाख । महोत्तरीको जंगलमा सिकार गर्न गएका एकजना पुरुष भरुवा बन्दुकसहित पक्राउ परेका छन् ।
जिल्लाको बर्दिबास नगरपालिका–८ स्थित सागरनाथ वन बिकास परियोजना अन्तर्गत पर्ने हात्तिलेटको वन व्यवस्थापन शाखाको जगंलमा हातहतियारसहित केही मानिसहरुले जंगली जनावरको सिकार गरिरहेको गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बर्दिबासबाट खटेको प्रहरी टोलीले दुईथान भरुवा बन्दुकसहित एकजनालाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा बर्दिबास–१४ नमुनाबस्ती बस्ने ४९ वर्षीय भिम भन्ने गणेश बहादुर मगर रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए ।
सिकार खेल्दै गरेको अवस्थामा प्रहरीलाई देखेपछि बन्दुक जंगलको झारीमा फालेर भाग्दै गरेको अवस्थामा उनीहरुलाई पिच्छा गर्दा मगर पक्राउ परेका हुन् ।
उनीसँगै सिकार गर्न गएका ३५ वर्षीय अविचन सदा फरार भएको प्रहरीले जनाएको छ ।
प्रहरीले उनीहरुले जंगलको जंगली वनमाराको झारी भित्र फ्याकेको फाईरिङ्ग भइसकेको भरुवा बन्दुक १ नाल र तयारी हालतमा लोड भएको भरुवा बन्दुक १ नाल र सो भरुवा बन्दुकहरुमा प्रयोग हुने बारुद, फलामको छर्राहरु, सलाईको बट्टा काटी, कपडाको टुक्राहरु बरामद गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


