जनकपुरधाम, ३० चैत । जनकपुरधाम उपमहानगरपालिकाले ८१ योजनामा ५० लाख ५४ हजार बढी रकम भुक्तानी गरेको छ ।

महालेखा परीक्षकको कार्यालयले बिहीबार सार्वजनिक गरेको ६०औँ वार्षिक प्रतिवेदन अनुसार खानेपानी हेण्ड पाइपको ढुवानी भाडा गणना गर्दा जिल्ला दररेटमा उल्लेख भएको सवारी भाडा दरमा १५ प्रतिशत थप गर्नुपर्नेमा पाइपको दरमा १५ प्रतिशत थप गरी मूल्याङ्कन गरेकोले ८१ योजनामा ५० लाख ५४ हजार बढी भुक्तानी भएको देखिएको छ ।

पाइपको मूल्याङ्कन सार्वजनिक खरिद नियमावली २०६४ को नियम १० मा निर्माण कार्यको लागत अनुमान तयार गर्दा स्वीकृत नर्म्स र जिल्ला दररेटको अधारमा तयार गर्नु पर्ने व्यवस्था छ ।

जनकपुरधाम उपमहानगरपालिकाले खानेपानी हेण्ड पाइपको लागत अनुमान तयार गर्दा खानेपानी विभागले तयार गरेको स्वीकृत नर्म्स अनुसार तयार गरी जिल्ला दररेटको आधारमा भुक्तानी गर्नुपर्नेमा पाईपको तौल चार्टमा उल्लेख भएको भन्दा बढी तौल उल्लेख गरी मूल्याङ्कन गरेको छ ।

बढी भुक्तानी भएको रकम असुल हुनुपर्ने महालेखाको ठहर छ ।