महोत्तरी, २९ चैत । महोत्तरीमा काम गरेको ज्याला माग्दा एक निर्माण व्यवसायीले मजदुरसँग अमानवीय व्यवहार गरेको घटना सार्वजनिक भएको छ ।

जिल्लाको लोहारपट्टी नगरपालिका–६ बस्ने ३५ वर्षीय निमार्ण व्यवसायी कृष्ण मिश्रले स्थानीय मोबारक नदाफलाई चोरीको आरोप लगाउँदै बिच सडकमा बाँधेर कालोमोसो दलि कुटपिट गरेका हुन् ।

गत चैत २३ गते बिहान नदाफलाई ज्यालाका लागि बोलाएर चोरी गरेको भन्दै विद्युत् पोलमा पाता कसेर मिश्रले नदाफलाई अमानवीय व्यवहार गरेका थिए ।

अनुसन्धानका क्रममा मिश्रले ती कर्मचारीको कपाल मुण्डन गर्नुका साथै मोसो दलेर दुर्व्यवहार गरेको पाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दीलिपकुमार गिरीले जानकारी दिए ।

उनले भने, ‘मिश्रले उनको कपाल पनि मुण्डन गरेर मोसो दले । मान्छेहरूले त्यहाँ रमिता हेरेर बसेका थिए । प्रहरीलाई खबर पनि गरिएन ।‘

घटनाको भोलिपल्ट सामाजिक सञ्जालमा भिडियो दखेपछि प्रहरीले मिश्रलाई नियन्त्रणमा लिएको छ । उनीविरुद्ध अमानवीय अपमानजनक व्यवहार कसुरमा मुद्दा चलाइएको डिएसपी गिरीले बताए । अमानवीय व्यवहार गरिएका नदाफ मिश्रले पाएका ठेक्कामा मजदुरी गर्दै आएका थिए ।

रमजान मनाउन निर्माण व्यवसायी मिश्रसँग काम गरेको ज्याला मागेपछि नदिँदा उनले काम गर्दैगर्दा एउटा औजार लगेका थिए । औजार लिएर आएपछि पैसा दिने भन्दै गाउँमै रहेको शिव मन्दिरमा बोलाएर चोरीको आरोप लगाउँदै मिश्रले कुटपिट गर्दै अमानवीय व्यवहार गरेको स्थानीयले बताए ।