काठमाडौं, २८ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैंकको ब्याजदर घटाउने विषयमा सरकारले छलफल जारी राखेको बताएका छन् ।

मंगलबार उद्योग वाणिज्य महासंघको ५७औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री दाहालले बैंकको ब्याजदर कम गर्ने र राजश्व संकलनलाई बढाउने बारेमा सरकारका सबै अंगसँग आफू छलफलमा रहेको बताएका छन् ।

उनले भने, ‘हामी बजेट तथा नीति निर्माणको प्रक्रियामा अन्तिम चरणमा छौँ । अर्थतन्त्रको समस्या समाधान गर्ने बारेमा हामीले छलफल गरेका छौँ र सकारात्मक दिशा दिने पूरै प्रयास हामीले गरेका छौँ । यो बीचमा गरिएका कामहरू केही राजनीतिक उत्तारचढावका कारण जति तीव्रताका साथ जानुपर्ने हो, त्यति जान सकेको छैन । हामीले अब सम्पूर्ण तागत अर्थतन्त्रलाई लयमा ल्याउन, गति दिन तरलताको समस्या भनेका छौँ त्यसलाई, राजश्व संकलनको स्थितिलाई, रेमिट्यान्सको स्थितिलाई र अन्य अर्थतन्त्रका सूचकहरूलाई कसरी समाधान गर्ने भन्नेमा निकै बढी जोड गरिएको छ र तीन महिनाको गएको अवधिमा सन्तोष गर्ने ठाउँ के छ भने विदेशी मुद्राको सञ्चिति सन्तोषजनक मात्रै होइन, विस्तारै उत्साहजनक छ ।’

प्रधानमन्त्री प्रचण्डले सरकार बजेट तथा नीति निर्माणको प्रक्रियामा अन्तिम चरणमा रहेको बताउँदै आगामी वर्षको बजेटमा अर्थतन्त्रको समस्या समाधान गर्ने उपायसहितका योजना समावेश गरिने बताए । प्रधानमन्त्री दाहालले सरकारले पछिल्लो अर्थतन्त्र सुधारका लागि सम्पूर्ण शक्ति लगाएर काम गरिरहेको पनि बताए । उनले सरकारले राजश्व संकलन, रेमिट्यान्स र अन्य अर्थतन्त्रका सूचकहरूलाई कसरी चलायमान बनाउने भन्नेबारेमा जोड दिइरहेको बताए ।

प्रधानमन्त्री दाहालले आफूले सरकार सञ्चालन गरेको तीन महिनामा विदेशी मुद्राको सञ्चिति उत्साहजनक हुँदै गएको बताए । देशसँग अहिले झन्डै ११ महिना पुग्ने विदेशी सञ्चिति रहेको पनि उल्लेख गरे ।

उनले लगानीमैत्री एवं व्यवसायमैत्री वातावरणका लागि सरकारले पूर्णरूपमा सहयोग गर्ने प्रतिवद्धता पनि जनाए ।प्रधानमन्त्री दाहालले कृषिको उत्पादन पछिल्लो समय घटेको र कृषिजन्य सामग्री नेपालमा धेरै आयात हुँदै जानु दुःखद् भएको बताए । उनले सरकार आगामी आर्थिक वर्षको बजेट तथा नीति निर्माणमा केही ठूला, नयाँ र गुणात्मक योजना अघि बढाउने तयारीमा रहेको पनि बताए ।