जनकपुरधाम, २८ चैत । महोत्तरीको एक वडाध्यक्षका छोरा चोरीको मोटरसाइकलसहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सोनमा गाउँपालिका वडा नम्बर–३ का वडाध्यक्ष रामप्रमोद सहनीका १९ वर्षीय छोरा सुजितकुमार सहनी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिलिपकुमार गिरीले सहनीलाई गौशाला नगरपालिका–२ निगौल चोकबाट पक्राउ गरिएको जानकारी दिए ।

सहनीले ज ७ प १२१४ नम्बरको रातो रंगको मोटरसाइकल डोर्याउँदै लगिरहेको अवस्थामा निगौल चोकमा चेकजाँचको क्रममा शंका लागेर प्रहरीले सोधपुछ गर्दा चोरीको मोटरसाइकल भएको खुलेको थियो ।

गौशाला नगरपालिका–५ शिवभक्ति खोरबाट चोरी गरेर मोटरसाइकल ल्याएको बताएपछि उनलाई नियन्त्रणमा लिइएको महोत्तरी प्रहरीले जानकारी दिएको छ ।