विराटनगरमा वैशाख १ गतेदेखि गुट्खा, खैनी र चुरोट निषेध

विराटनगर, २८ चैत । विराटनगर महानगरपालिकाले आगामी वैशाख १ गतेदेखि नगरभित्रका सार्वजनिक स्थानहरूमा खैनी, चुरोट र गुट्खालगायतका सामग्री सेवन गर्न निषेध गर्न लागेको छ ।
नगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरले नयाँवर्षदेखि सार्वजनिक स्थलहरूमा धुम्रपान, खैनी, चुरोट र गुट्खालगायतका सामग्री सेवन गर्न निषेध गर्न लागेको हो ।
गत पुस २७ गते बसेको नगरसभाको निर्णयअनुसार महानगर क्षेत्रभित्र धुम्रपानदेखि प्रेसर हर्न बजाउन निषेध (नो हर्न) गर्न लागिएको महानगरका प्रमुख नागेश कोइरालाले जानकारी दिएका छन् ।
ध्वनि प्रदूषण नियन्त्रण गर्ने महानगरको योजनाअन्तर्गत सवारी साधनको प्रेसर हर्न बजाउन निषेध गर्न लागिएको उनले बताए ।
केही हप्ताअघि महानगरले धार्मिक संघसंस्था, साउन्ड सिस्टम प्रतिनिधिलगायतलाई बोलाएर ध्वनि प्रदूषण नियन्त्रण एवं धुम्रपान र गुट्खा, खैनी खाएर शहर फोहोर गर्ने गरेका विषयमा छलफल गरेको थियो ।
विराटनगर कोशी प्रदेशको राजधानीसँगै प्रदेशको एकमात्रै महानगरपालिका भएकाले यसलाई व्यवस्थित र सभ्य बनाउने दायित्व सबैको भएको प्रमुख कोइरालाले बताए ।
उनले महानगरले सरसफाइ, फुटपाथ नियन्त्रण, सडकलाई पार्किङ निषेध, कर संकलनलगायतका अभियान सञ्चालन गरिरहेको सुनाए ।
पार्किङस्थललाई व्यवस्थित बनाउने कार्य भइरहेकाले केही दिनभित्रै विगतको निर्णय प्रभावकारी रुपमा कार्यान्वयन गरिने प्रमुख कोइरालाको भनाइ छ ।
उनले महानगर क्षेत्रभित्र प्रेसर हर्न नबजाइदिन सरोकारवालालाई आग्रह पनि गरेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


