रौतहट, २७ चैत । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रौतहटको ईशनाथ नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ताविरुद्ध झण्डै डेढ करोड रुपैयाँ बराबरको भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

गुप्ताले गैरकानुनी सम्पत्ति आर्जन गरेको उजुरीमाथि छानबिन गर्दा १ करोड ४९ लाख ९७ हजार रुपैयाँको स्रोत नखुलेकोले विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिएका हुन् ।

गुप्ताले सार्वजनिक सेवा प्रवेश गरेको मितिदेखि आयोगमा सम्पत्ति विवरण पेश गरेको अवधिमा विभिन्न शीर्षकहरूमा भएका आय र व्ययतर्फ गरी आयको अनुपातमा खर्च तथा लगानी गरेको व्यय एवं विद्यमान सम्पत्ति १ करोड ४९ लाख ९७ हजार ८६४ रुपैयाँ बराबरको स्रोत नखुलेको प्रवक्ता दाहालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

गुप्ताले सार्वजनिक पदको दुरूपयोग गरी सो रकम बराबरको सम्पत्ति गैरकानूनी रूपमा आर्जन गरी साविक भ्रष्टाचार निवारण ऐन¸ २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले उनीउपर भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ मा उल्लेख भएबमोजिम सोही ऐनको दफा ३ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम कैद तथा जरिवानाको सजाय माग गरिएको छ ।

गुप्ताले सार्वजनिक सेवाको पदमा रहेर पदको दुरूपयोग गरी गैरकानूनी रूपमा आर्जन गरेको स्रोत नखुल्ने सम्पत्ति श्रीमती उषा गुप्ताको नाममा जग्गा खरिद तथा घर निर्माण लगायतमा गरिएका खर्चमध्ये स्रोत पुष्टि हुन नसकेको लागत मूल्य बराबरको सम्पत्ति बिगो र त्यसबाट बढेबढाएको सम्पत्ति जफत गर्ने प्रयोजनार्थ मात्र साविक भ्रष्टाचार निवारण ऐन २०१७ को दफा १६ ग, दफा २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा ४७ तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन¸ २०४८ को दफा २९ ख बमोजिम उषा गुप्तालाई समेत प्रतिवादी कायम गरी उनको नाममा कायम रहेको सम्पत्तिमध्येबाट बिगो जफत गरी पाउन मागदावी लिई विषेश अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ ।