रौतहटको माधवनारायणमा भीषण आगलागी, २१ घर जलेर खरानी

जनकपुरधाम, २६ चैत । रौतहटको माधवनारायण नगरपालिकामा भीषण आगलागी हुँदा २१ घर जलेर नष्ट भएको छ ।
माधवनारायण नगरपालिका–४ स्थित मानपुरमा स्थानीय जिउत मुखिया बिनको घरबाट सल्किएको आगोले भिषण रुप लिएपछि स्थानीयको २१ वटा घर जलेर नष्ट भएको छ ।
आइतबार दिउँसो २ बजेको समयमा मुखियाको घरमा खाजा बनाउनकालागि चुलोमा बालिएको आगोबाट घरमा आगो लागेको थियो । मुखियाको घरमा लागेको आगो तिब्र हावाका कारण छिमेकको घरमा समेत फैलिएको थियो ।आगलागीमा परेर घर, चौपाया अन्न, लत्ताकपडासमेत जलेर नष्ट भएको स्थानीयले बताएका छन् ।
![]()
आगलागीमा परेर खरानी बनेका अधिकांश घर कच्चीको रहेको रौतहटका प्रहरी उपरीक्षक बिरबहादुर बुढामगरले जानकारी दिए । उनले आगलागीबाट भएको क्षतिको पूर्ण विवरण अहिलेसम्म प्राप्त हुन नसकेको बताए ।
आगलागीबाट स्थानीय हरेसी मुखिया, महेशी मुखिया, ईन्द्रदेव भगत, दिनकर मुखिया,उपेन्द्र मुखिया, वीरेन्द्र मुखिया बद्री भगत, सुरेन्द्र मुखिया, जितेन्द्र मुखिया, बिकाउ मुखिया, जयकरण मुखिया लगायत २१ जनाको घर जलेर नष्ट भएको छ ।
आगो झण्डै ३ घण्टापछि नियन्त्रणमा लिइएको छ । आगो नियन्त्रणमा लिन स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा चन्द्रपुर र गौर नगरपालिकाको वारुणयन्त्र परिचालन गरिएको थियो ।

आगलागीले मानविय क्षति हुनबाट जोगिएपनि लाखौँको भौतिक क्षति भएको बताइएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


