काठमाडौं, २६ चैत । मिटरब्याज पीडितहरूले गृह मन्त्रालयको टोलीसँग वार्ता गर्न १९ सदस्यीय वार्ता टोली गठन गरेका छन् । चैत २० गतेदेखि काठमाडौंमा आन्दोलनरत मिटरब्याज पीडितहरूले टोली गठन गरेका हुन् ।

गृह मन्त्रालयले गत शुक्रबार सह–सचिव प्रदीपकुमार कोइरालाको संयोजकत्वमा ५ सदस्यीय वार्ता टोली गठन गरेको थियो । सरकारी वार्ता टोलीमा सह–सचिव कोइराला, मन्त्रालयका उप–सचिव दिलकुमार तामाङ, प्रधानमन्त्री कार्यालयका उप–सचिव उमाकान्त अधिकारी, कानुन मन्त्रालयका उप–सचिव जंगबहादुर डाँगी र प्रहरी उपरीक्षक दिनेशराज मैनाली छन् ।

काठमाडौंमा आएर विरोधका कार्यक्रम गरेको मिटरब्याज पीडितको एक टोलीसँग सरकारले १८ चैतमा ५ बुँदे सहमति गरेको थियो । त्यो टोली फर्किएलगत्तै मिटरब्याज पीडितकै अर्को टोली काठमाडौंमा प्रदर्शन गर्दै आएको छ । अहिलेको टोलीले सरकारले अघिल्लो टोलीसँग गरेको ५ बुँदे सहमतिलाई अपुरो भनेको छ । त्यसमा उनीहरूको थप ५ बुँदे माग छ ।

मिटरब्याजका नाममा भएका सबै प्रकारका लिखत मन्त्रिपरिषद्ले निर्णय गरेर अवैध घोषणा गर्नुपर्ने, मिटरब्याजलाई अपराध घोषित गरेर फास्ट ट्रयाकबाट कानून जारी गर्नुपर्ने, मिटरब्याज पीडितविरुद्ध अदालतमा चलिरहेका मुद्दाको सुनुवाइ स्थगित गर्दै फैसला भएका मुद्दाको पुनरावलोकन गर्नुपर्ने माग आफूहरुको रहेको प्रवक्ता निर्ग नवीनले बताए ।

यसैगरी मिटरब्याज पीडितका नाममा जारी भएका पक्राउ पुर्जी खारेज गर्नुपर्ने, जेल चलान भएकाको रिहाइ गर्नुपर्ने, मिटरब्याजसँग जोडिएका चेक बाउन्स मुद्दा खारेज गर्नुपर्ने र मिटरब्याजीको सम्पत्ति छानबिन गर्नुपर्ने माग पनि पीडितहरूले राखेका छन् ।