सप्तरी, २६ चैत । सप्तरीमा घरायसी विवादमा ज्वाइँको कुटाईबाट गम्भीर घाइते भएका ससुराको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको बोदेबर्साईन नगरपालिका–६ खामगडाका ५५ वर्षीय छठु महतो रहेको प्रहरीले जनाएको छ ।

महतोलाई गत पुस ११ गते उनका ज्वाइँ बोदेबर्साईन नगरपालिका–७ का २३ वर्षीय रामचन्द्र महतोले कुटपिट गरेका थिए । ज्वाइँको कुटपिटबाट नाक, मुख, टाउकोसहित शरीरको विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका उनलाई स्थानिय जिवन ज्योति अस्पतालमा सामान्य उपचारपश्चात् थप उपचारका लागि धरान लगिएको थियो ।

स्वास्थ्यमा सुधार हुँदा गत चैत १८ गते घर फर्केर औषधि खाइरहेका उनको शनिबार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेश कुमार सिंहले जानकारी दिए ।

डिएसपी सिंहका अनुसार कुटपिटमा संलग्न ज्वाइँ धरौटी रकम तिर्न नसक्दा जेल चलान भएका छन् । ज्वाइँमाथि छठुकी श्रीमती मायाबति नौनियाले ज्यानमार्ने उद्योगमा किटानी जाहेरी दिएकी थिइन् ।

सप्तरी जिल्ला अदालतको फैसलाले माघ २५ गते ५० हजार रुपैयाँ धरौटी बुझाउन नसक्दा पुर्पक्षका लागि राजबिराज कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।