जानकी मन्दिर परिक्रमा पथ प्रवेशमा प्रतिबन्ध लगाइएको घटनाप्रति विश्व हिन्दू परिषद् नेपालको आपत्ति

जनकपुरधाम, २४ चैत । हनुमान जन्मोत्सवको अवसरमा निकालिएको शोभायात्रालाई जानकी मन्दिर परिक्रमा पथ प्रवेशमा प्रतिबन्ध लगाइएको घटनाप्रति विश्व हिन्दू परिषद् नेपालले आपत्ति जनाएको छ ।
विश्व हिन्दू परिषद् नेपालले शुक्रबार धनुषाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै बिहीबार जनकपुरधाममा विश्व हिन्दू परिषद् नेपाल लगायतका संगठनहरुले हनुमान जन्मोत्सवको अवसरमा निकालेको शोभायात्रालाई जानकी मन्दिर परिक्रमा पथ प्रवेशमा प्रतिबन्ध लगाइएकोप्रति आफूहरुको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
ज्ञापनपत्रमा जानकी मन्दिर परिक्रमा पथमा एक समुदाय विशेषको मस्जिद पर्ने भएकोले हिन्दूहरुको शोभायात्रालाई प्रतिबन्ध लगाउनु अत्यन्तै दुःखद एवं गम्भीर विषय रहेको उल्लेख छ ।
ज्ञापनपत्रमा भनिएको छ, ‘मुस्लिमहरुले मुहर्रम पर्वमा हातहतियारसहित विभिन्न मठमन्दिरको बाटो तथा हिन्दूहरुको धार्मिक प्रांगण प्रयोग गर्दै जुलुश निकाल्दा कहिंकतै, कसैले कुनै वाधा अवरोध खडा गरेको देखिंदैन । मुस्लिमहरुको पर्वहरुमा प्रवेशमा प्रतिबन्ध लगाइँदैन । तर, हिन्दूहरुको शोभायात्रालाई हिन्दूहरुको अराध्य जानकी मन्दिर परिक्रमा पथ प्रवेशमा प्रतिबन्ध लगाइनु सम्पूर्ण सनातन हिन्दू धर्मावलम्बीप्रति अन्याय भएको हाम्रो ठहर छ ।’
यस किसिमको अन्यायपूर्ण क्रियाकलापले सामाजिक सद्भाव विथोलिने भएको हुँदा देशको अमन चयन एवं आपसी भाईचारालाई मध्यनजगर गर्दै यस विषयलाई गम्भीरताका साथ लिन सम्बन्धित निकायलाई विश्व हिन्दू परिषद् नेपालले ध्यानाकर्षण गराएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


