जनकपुरधाम, २४ चैत । मधेस प्रदेश प्रहरीले धनुषाबाट ठूलो परिमाणमा गाँजासहित एउटा ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ ।

मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामबाट खटेको प्रहरी टोलीले जनकपुरधाम–ढल्केवर सडकखण्ड अन्तर्गत लक्ष्मिनीयाँ चोकबाट १२४ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ना ७ ख ४२५१ नम्बरको ट्रकका चालक हेटौंडाको मकवानपुर–८ मनहरी बस्ने शन्तबिर दोङ रहेको मधेस प्रदेश प्रहरी कार्यालयका प्रमुख जनक भट्टराईले जानकारी दिए ।

मकवानपुरबाट भारत पठाउनका लागि ट्रकमा वेल्डिङ्ग गरेर गाँजा लोड गरी ल्याइरहेको अवस्थामा गोप्य सूचनाको आधारमा खटेको प्रहरी टोलीले उनलाई पक्राउ गरेको छ ।

खाली ट्रकभित्र जस्तापाताले घेरेर लुकाएर लगिरहेको अवस्थामा प्रहरीले ट्रकसहित चालक दोङ्गलाई नियन्त्रणमा लिएको थियो ।