जनकपुरधाम, २४ चैत । रौतहटको देवाही गोनाही नगरपालिकाका नगरप्रमुख प्रेमलाल साह कानुविरुद्ध जिल्ला अदालत रौतहटले पक्राउ पुर्जी जारी गरेको छ ।

गत आइतबार उनको सट्टा उनका ज्वाइँले एसईई परीक्षा दिंदै गर्दा पक्राउ परेपछि शुक्रबार जिल्ला अदालतले नगरप्रमुख कानुविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

अनुसन्धानका क्रममा प्रेमलाल साह कानुको नाम आएकाले उनीमाथी पनि छानबिन गर्नकालागि जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक वीरबहादुर बुढामगरले जानकारी दिए ।

उनले भने, ‘अहिले नगरप्रमुखभन्दा पनि उनी परीक्षार्थीको रुपमा देखिएकाले सोही बमोजिमको अनुसन्धान गर्नेछौँ ।’

कानुको सट्टा एसईई दिंदै गर्दा उनका ज्वाइँ गरुडा नगरपालिका–६ पोठियाहीका कमल साह पक्राउ परेका थिए । मौलापुर नगरपालिकाको लक्ष्मीनियाँ माविमा एसईईमा नियमिततर्फका परीक्षार्थी कानुले आफ्नो ठाउँमा ज्वाइँ कमललाई परीक्षा दिन लगाएको प्रहरीको अनुसन्धानले देखाएको छ ।

पक्राउ परेका साह रेडियो नेपालको बर्दिवास शाखामा पाँचौ तहमा कार्यरत स्थायी कर्मचारी हुन् । साहले प्रहरी अनुसन्धानका क्रममा नगरप्रमुख कानुले आफूलाई परीक्षा दिन बोलाएको स्वीकार गरेका प्रहरीको भनाइ छ ।

परीक्षा सञ्चालन भइरहेको बेला अनुगमन टोलीलाई शंका लागेर चेकजाँच गर्दा उनी पक्राउ परेका थिए । नगरप्रमुखले भरेको परीक्षा फाराम, रजिष्ट्रेशन तथा परीक्षाका अन्य कागजातमाथी प्रहरीले अनुसन्धान गरिरहेको छ ।

शिक्षा ऐन २०२८ को दफा १७ मा नक्कली परीक्षार्थीबाट जाँच दिन लगाउने र दिने दुबैलाई ६ महिना कैद वा १ लाख रुपैयाँ जरिवाना वा दुबै हुन सक्ने कानूनी व्यवस्था छ ।