धनुषा ट्राफिकले सरकारी गाडीमा लगायो ह्विल लक

जनकपुरधाम, २४ चैत । धनुषा ट्राफिकले अव्यवस्थित तरिकाले पार्किङ्ग गरी राखिएको सरकारी गाडीमा समेत ह्विल लक लगाएको छ । ट्राफिक प्रहरीले सरकारी गाडीमा ताल्चा ठोकेको हो ।
जनकपुरधामको रामचोकस्थित राम मन्दिर अगाडि नो पार्किङ्गमा खडा गरिएको प्रदेश २–०२–००१झ ००२२ नम्बरको सरकारी गाडीमा ट्राफिक प्रहरीले शुक्रबार दिउँसो ह्विल लक लगाएको हो ।
सडकमा पार्किङ्ग गरिराखेको गाडीमा जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रहरीले ताल्चा ठोकेका हुन् ।
सडक ढाकेर पार्किङ्गमा राखेको सरकारी गाडीमा लक लगाइएको ट्राफिक प्रहरी प्रमुख शेखर कुमार साहले जानकारी दिए । उक्त गाडीलाई नियमअनुसार चिट काटेर कारबाहीमा ल्याइएने उनले बताए ।
पार्किङ्ग स्थलमा मात्र पार्किङ्ग गर्न जानकारी दिइरहँदा अटेर गरी अव्यवस्थित पार्किङ्ग गरेका सवारीसाधनलाई ह्विल लक लगाएर १ हजार रुपैयाँ जरिवाना गराइने ट्राफिक प्रमुख साहले बताए ।
साहका अनुसार यो प्रक्रिया निरन्तर चलिरहने छ । चाहे व्यक्तिगत होस् वा सरकारी सवारी साधन हुन्, गलत स्थानमा पार्किङ्ग गरे ह्विल लक लगाएर जरिवाना गरी छोड्ने ट्राफिक प्रमुख साहले बताए ।
ट्राफिक प्रहरीले सवारी धनीहरुलाई सम्बन्धित पार्किङ्ग स्थलमा मात्र पार्किङ्ग गर्न अनुरोध समेत गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


