हनुमान जन्मोत्सवको अवसरमा जनकपुरधाममा विशाल शोभा यात्रा

जनकपुरधाम, २३ चैत । हनुमान जन्मोत्सवको अवसरमा जनकपुरधाममा विशाल शोभा यात्रा निकालिएको छ । शोभा यात्राका क्रममा जनकपुरधामको नगर परिक्रमा गरिएको छ ।
चैत शुक्ल पुर्णिमाका दिन मनाइने हनुमान जन्मोत्सवको अवसरमा निकालिएको शोभा यात्रामा हजारौको उपस्थिती रहेको थियो । भगवान रामभक्त हनुमानको आजकै दिन माता अञ्जलीको कोखबाट जन्म भएको सम्झनामा चैत पुर्णिमाका दिन हनुमान जन्मोत्सव मनाइन्छ ।
जनकपुरधाममा बृहत झाँकीसहित निकालिएको विशाल शोभा यात्रामा जानकी मन्दिरका सहायक महन्थ रामरोशन दासलगायत विभिन्न राजनीतिक दलका प्रतिनीधि, स्थानीय जनप्रतिनीधि, नेता, कार्यकर्ता, समाजसेवी, बुद्धिजिवी, हिन्दुवादी संघ संस्थाका प्रतिनीधि, युवा, विद्यार्थी, महिला लगायतको उल्लेख्य उपस्थिती रहेको थियो ।
शोभा यात्रामा हिन्दु राज्यको माग गुञ्जियो
जनकपुरधाममा निकालिएको विशाल शोभा यात्रामा हिन्दु राज्यको माग गुञ्जिएको छ । समस्त हिन्दु समाजको आयोजनामा हनुमान जन्मोत्सवको अवसर पारेर निकालिएको शोभा यात्रामा नेपाललाई हिन्दु राज्य कायम गर्नुपर्ने माग गरिएको हो ।
जानकी मन्दिरबाट निस्केको शोभा यात्रा नगरको विभिन्न भागको परिक्रमा गर्दै जनक चोक पुगेर समापन भएको थियो । जनक चोक पुगेका सहभागीहरुले सामूहिक रुपमा हनुमान चालिसा पाठ गरेका थिए । जनक मन्दिर र राम मन्दिरको छेउमा नयाँ ध्वजारोहण गरिएको युवा अगुवा सुशिल कर्णले जानकारी दिए ।
यसअघि रामनवमीको अवसरमा हिन्दु धर्माबलम्बीहरुले निकालेको शोभा यात्रा जानकी मन्दिर पछाडिको मस्जिद अगाडि हुँदै जय श्रीरामको नारा लगाउँदा मुस्लिम समुदायले आपत्ति जनाएको थियो ।
बिहीबार हनुमान जन्मोत्सवको अवसरमा निकालिएको शोभा यात्राको क्रममा जानकी मन्दिरको परिक्रमा गर्ने कार्यक्रम तय गरेपनि प्रहरीले ठाउँठाउँमा अवरोध गरेको थियो । जानकी मन्दिर पछाडिको मस्जिद जाने बाटोमा प्रहरीले दिनभर प्रवेशमा रोक लगाएको थियो ।
हेर्नुहोस् तस्बिरहरू












तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


