जनकपुरधाम, २३ चैत । नेपालको एकमात्र कुर्था–जनकपुरधाम–जयनगर ब्रोडगेज रेल्वे सेवाले आफ्नो सेवा विस्तार गर्न लागेको छ ।

यात्रुहरूको सुविधालाई ध्यानमा राखी बिहानको प्रथम सेवा कुर्थाबाट जयनगरतर्फ खुल्ने गरी वैशाख १ गतेदेखि नयाँ समय सारिणी सार्वजनिक गर्न लागिएको हो ।

अब कुर्था–जनकपुरधाम–जयनगर रेल्वे अप एण्ड डाउन गरेर दैनिक चारपटक सञ्चालन हुने भएको छ ।

जसअनुसार बिहान सवा ७ बजे कुर्थाबाट छुटेर बिहान सवा ९ बजे जयनगर पुग्ने छ भने जयनगरबाट बिहान साढे ९ बजे छुटेर बिहान साढे ११ बजे कुर्था फर्किने छ ।

कुर्थाबाट फेरि मध्यान्ह २ बजेर ४५ मिनेटमा छुटेर ४ बजेर ४५ मिनेटमा जनयनगर पुग्ने छ भने जयनगरबाट साँझ ५ बजे छुटेर साँझ ७ बजे कुर्था फर्किने गरी रेल्वेको समय निर्धारण गरिएको रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए ।

जयनगरदेखि जनकपुरधामको कुर्थासम्मको ३५ किलोमिटरमा यात्रीसहित दिनको चारपटक रेल चल्ने भएको उनले बताए । रेलको भाडा दर यस अघि नै निर्धारण भइसकेको छ ।

भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा पहिलो खण्डमा जयनगरदेखि जनकपुरधामको कुर्थासम्म ३५ किलोमिटर र कुर्थादेखि महोत्तरीको विजलपुरा हुँदै बर्दिबाससम्मको गरेर कूल ७४ किलोमिटरमा रेल सञ्चालन हुने भएको छ ।

भारत सरकारको ५ अर्ब भारतीय रकममा निर्माण हुने रेल्वेको स्टेशन, रेल ट्र्याक सहितको संरचनाहरू महोत्तरीको विजलपुरासम्म तयारी भएपनि बर्दिबासमा जग्गा अधिग्रहणमा ढिलाइ भएकाले निर्माण हुन नसकेपनि अहिले जग्गा अधिग्रहणको काम भइरहेकाले चाँडै थप निर्माण हुने भएको झाले जानकारी दिए ।

यस्तो छ नयाँ समय सारिणी :

बिहान ७ः१५ बजे कुर्थाबाट छुटेर ७ः२५ बजे जनकपुरधाम पुग्ने रेल जनकपुरधामबाट ७ः३० मा छुटेर ७ः४५ बजे परवाहा पुग्ने छ । परवाहाबाट ७ः४७ मा छुटेर ७ः५६ बजे बैदेहि पुग्ने रेल ७ः५८ बजे बैदेहिबाट छुटेर ८ः०८ बजे महिनाथपुर पुग्ने छ । फेरि महिनाथपुरबाट ८ः१० मा छुटेर ८ः२० मा खजुरी पुग्नेछ भने ८ः२५ मा खजुरीबाट छुटेर ८ः३५ मा इनर्वा पुग्नेछ । ८ः३७ मा इनर्वाबाट छुटेर ९ः१५ बजे जगनगर पुग्ने रेल १५ मिनेटको विश्रमापश्चात् ९ः३० बजे जयनगरबाट छुटेर ९ः३७ मा इनर्वा फर्किने छ । इनर्वाबाट ९ः४२ मा छुटेर ९ः५२ बजे खजुरी फर्किने छ भने खजुरीबाट ९ः५७ मा छुटेर १०ः०७ बजे महिनाथपुर फर्किने छ । महिनाथपुरबाट फेरि १०ः०९ बजे छुटेर १०ः१८ बजे बैदेहि फर्किने रेल १०ः२० बजे बैदेहिबाट छुटेर १०ः२८ बजे परवाहा पुग्नेछ । १०ः३० बजे परवाहाबाट निस्कने रेल १०ः५५ बजे जनकपुरधाम पुग्नेछ । ५ मिनट जनकपुरधाममा होल्ड गरी ११ बजे छुट्ने रेल ११ः३० बजे कुर्था पुग्नेछ ।

बिहान ११ः३० बजेदेखि मध्यान्ह २ः४५ बजेसम्म रेल सञ्चालन नहुने महाप्रवन्धक झाले जानकारी दिए ।

मध्यान्ह २ः४५ बजे कुर्थाबाट छुटेर २ः५५ बजे जनकपुरधाम पुग्ने रेल जनकपुरधामबाट ३ बजे छुटेर ३ः१५ बजे परवाहा पुग्नेछ भने परवाहाबाट ३ः१७ बजे निस्केर ३ः२६ बजे बैदेहि पुग्नेछ । बैदेहिबाट ३ः२८ बजे छुटेर ३ः४० बजे महिनाथपुर पुग्ने रेल महिनाथपुरबाट ३ः४२ मा छुटेर ३ः५२ बजे खजुरी पुग्नेछ । फेरि खजुरीबाट ३ः५७ बजे निस्केको रेल ४ः०७ बजे इनर्वा पुग्नेछ भने इनर्वाबाट ४ः०८ मा छुटेर ४ः४५ बजे जयनगर पुग्नेछ ।

जयनगरमा १५ मिनट होल्ड गरी पुनः साँझ ५ बजे छुटेको रेल ५ः०८ बजे इनर्वा फर्किने छ । इनर्वाबाट ५ः१३ बजे निस्केर ५ः२३ बजे खजुरी पुग्ने रेल खजुरीबाट ५ः२८ बजे छुटेर ५ः३८ बजे महिनाथपुर फर्किने छ । महिनाथपुरबाट ५ः४० बजे छुटेर ५ः४९ बजे बैदेहि पुग्ने रेल ५ः५१ बजे बैदेहिबाट छुटेर साँझ ६ बजे परवाहा पुग्नेछ । परवाहाबाट ६ बजेर २ मिनेटमा निस्कने रेल साँझ ६ बजेर २५ मिनेटमा जनकपुरधाम फर्किने छ भने जनकपुरधामबाट ६ः३० बजे छुटेर साँझ ७ बजे कुर्था पुग्नेछ ।