पूर्वमन्त्री खानले साईबर ब्यूरोमा गराए मुद्दा दर्ता

काठमाडौं, २२ चैत । जनमत पार्टीका नेता एवम् पूर्वखानेपानी तथा सरसफाइ मन्त्री अब्दुल खानले बुधबार प्रहरी प्रधान कार्यालय पुगेर मुद्दा दर्ता गराएका छन् ।
पूर्वमन्त्री खानले प्रहरी प्रधान कार्यालय साईबर ब्यूरो अपराध अनुसन्धान तथा कारबाही शाखामा विद्युतीय कारोबार सम्बन्धी कसुरबारे मुद्दा दर्ता गराएका हुन् ।
मुलुकी फौजदारी कार्यविधि (संहिता) २०७४ को दफा ४ को उपदफा ३ बमोजिम प्रहरी प्रधान कार्यालयको अपराध दर्ता किताबमा मुद्दा नम्बर–८३ मा उनको मुद्दा दर्ता गरिएको बरिष्ठ प्रहरी नायव निरीक्षक रमेश कार्कीले जानकारी दिए ।
भारतीय गिरोहको सेक्स ट्रयापमा परेका खानको भिडियो यतिबेला सामाजिक सञ्जालको प्राइभेट ग्रुपमा भाइरल भएपछि कारबाहीको माग गर्दै उनले प्रहरीसमक्ष मुद्दा दर्ता गरेका छन् ।
सुरुमा युवतीको तस्बिर र नाममा फेसबुकबाट प्रवेश गरेका भारतीय गिरोहले खानसँग केही दिन प्रोफेसनल कुराकानी गरेपछि एकाएक ह्वाट्सएपमा सम्पर्क गरी अश्लील हर्कत सुरु गरेका थिए । त्यसपछि पूर्वमन्त्री खानले पनि अश्लील हर्कत गरेको भिडियोमा देख्न सकिन्छ ।
ह्वाट्सएपमा भएको भिडियो कलको स्क्रिन रेकर्ड गरी भारतीय गिरोहले पूर्वमन्त्री खानसँग रकमको बार्गेनिङ गरेको बुझिएको छ । खानले रकम दिन इन्कार गरी फेसबुकमा जोडिएका गिरोहका सदस्यलाई ब्लक गरेपछि गिरोहका सदस्यले उक्त भिडियो खानका फेसबुकमा जोडिएका अन्य व्यक्तिहरूलाई पठाएका थिए ।
यसबारेमा खानले सुरुमा फेसबुकमा साथी बनेर व्यवहारिक कुराकानी गरेकी ‘युवती’ले पछि ह्वाट्सएपमा भिडियो कल गरेर अश्लील भिडियो बनाएको स्वीकार गरे ।
खानले भने, ‘मलाई भारतीय गिरोह नै हो भन्ने लाग्छ । मसँग रकमको बार्गेनिङ भने भएन । सुरुमा त्यस्तो अश्लील भिडियो थिएन, त्यो भिडियो जोडिएको हो जस्तो लाग्छ । जब पछि अश्लीलता देखाउन थालियो, त्यसपछि मैले भिडियो कल काटेर ब्लक गरेको हुँ ।’
खानले उक्त भिडियो इडिट गरी तयार पारिएको र आफूले कुनै अश्लील हर्कत नगरेको समेत दाबी गरे ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


