यात्री निवासलाई व्यापारीक थलो नबनाउन अध्यक्ष झाको आग्रह

जनकपुरधाम, २२ चैत । आफ्नो धर्म संस्कृतिको रक्षाका लागि निरन्तर सक्रिय जनकपुरधामस्थित रामानन्द युवा क्लबले बृहत्तर जनकपुर क्षेत्र विकास परिषदविरूद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ ।
क्लबका अध्यक्ष शशिभूषण झा (आशुतोष)ले एक विज्ञप्ती जारी गर्दै यात्री निवास र बृहत्तरको कार्यालयमा तालाबन्दी गर्नुका साथै विरोधका अन्य कार्यक्रमसमेत सार्वजनिक गर्ने चेतावनी दिएका हुन् ।
यात्री निवासलाई व्यापार गर्ने केन्द्रको रुपमा प्रयोग गरिएको र सरकारी सम्पत्तिलाई दुरुपयोग गरिएकोले यस्ता जनविरोधी निर्णयलाई स्वीकार गर्न नसकिने अध्यक्ष झाले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
विज्ञप्तीमा लेखिएको छ, ‘नेपाल र भारतबिच धार्मिक–सांस्कृतिक सम्बन्धलाई जनस्तरमा अझै प्रगाढ बनाउने उद्देश्यका साथ करिब दुई दशकअधि भारतका प्रसिद्ध धार्मिक ट्रष्ट तिरुपति तिरुमलाको आर्थिक सहयोगमा बृहत्तर जनकपुरको व्यवस्थापन तथा नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको गुठी अधिनस्थ मटिहानी मठको जग्गा दानमा लिई यात्री निवासको निर्माण सम्पन्न भएदेखि गत वर्षसम्म जनकपुरधाममा हुने धार्मिक–सांस्कृतिक समारोहमा नेपाल र भारतबाट सहभागी हुने साधु, सन्त तथा सर्वसाधारणहरु अति न्यून रकम (५ सयदेखि १ हजारसम्म) तिरेर आवास सुविधा प्राप्त गरिरहेका थिए । यात्री निवास निर्माणकै समयमा भएको दुईपक्षिय सहमतिमा उक्त परिसरलाई पूर्णतः शाकाहारी राख्ने सहमति भए अनुसार जनकपुरधाममा धार्मिक, सांस्कृतिक समारोह हुँदा अन्तर र वाह्य पर्यटक उक्त क्षेत्रमा रहने गरेका थिए । न्यून शुल्क भएका कारण नेपाल र भारतका सर्वसाधारण नागरिक पनि यात्री निवास उपभोग गर्न सक्षम थिए । स्थानीय निवासी आफ्नो पारिवारिक विवाह तथा व्रतवन्ध जस्ता अन्य समारोह आयोजना गर्नका लागि लाग्ने शुल्क पनि आमजनताको पहुँचमा थियो ।’
हाल यात्री निवासलाई बृहत्तर बोर्ड वा त्यहाँको प्रशासनले निजी क्षेत्रका नाफामूलक होटल व्यावसायीलाई लिजमा दिएको र फाईभ स्टार होटेल जस्तो मँहगो शुल्क राखिएको उक्त होटल आमजनताको पहुँमा नरहेको अध्यक्ष झाले भनेका छन् ।
नेपाल तथा भारतका धार्मिक पर्यटक पनि उक्त ठाउँ प्रयोग गर्न नसक्ने स्थिति बनाइएको आरोप लगाउँदै उनले अहिले उक्त ठाउँ उच्च आर्थिक हैसियत भएका व्यक्तिहरुको पहुँचमा मात्र रहेको दाबी गरेका छन् ।
उक्त होटेलमा निषेधित गरिएको माँस र मदिरा जस्ता सामग्री पनि अहिले प्रयोगमा ल्याइएकोप्रति आपत्ति जनाउँदै भनेका छन्, ‘यो धर्मशाला हो, र धर्मशाला सञ्चालन सेवाको उद्देश्यले हुने भएकोले यहाँ नेपाल तथा भारतबिच दुई पक्षिय सम्झौता भई निश्चित आचारसंहितासहित सेवामूलक उद्देश्य लिई धर्मशाला सञ्चालन हुँदै आएकोमा हाल उक्त ठाउँलाई व्यपार गर्ने केन्द्रको रुपमा प्रयोग गरिएको र सरकारी सम्पत्तिलाई दुरुपयोग गरिएकोले यस्ता जनविरोधी निर्णयलाई स्वीकार गर्न सकिँदैन ।’
उनले यात्री निवास लिजमा लिएका व्यवसायीलाई पुरानै दररेटमा उपयोग गर्न लगाउने वा ठेकेदार व्यवसायीले पुरानो दररेटमा उपलब्ध नगराएमा उनको ठेक्का रद्द गरि बृहत्तर जनकपुरले आफैं पूर्वमै सञ्चालन गरेअनुसार सञ्चालनमा ल्याउन अनुरोध गरेका छन् ।
दुई महिनाभित्र उक्त स्थान धर्मशालाजस्ता सेवामूलक ढंगले पूर्वमा लिइँदै आएको दररेटमा सञ्चालनमा नल्याइए यात्री निवास र बृहत्तर जनकपुरको कार्यालयमा ताला लगाउनुका साथै विरोधका अन्य कार्यक्रमसमेत गर्ने अध्यक्ष झाले विज्ञप्तीमार्फत चेतावनी दिएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


