जनकपुरधाम, २२ चैत । धनुषाको नगराईन नगरपालिकाले जाडो महिनामा बाँड्नुपर्ने कम्बल गर्मी सुरु भएपछि निरन्तर बाँडिरहेको छ । नगराईन नगरपालिकाले जाडो छल्न हिउँदमा चाहिने कम्बल गर्मी सुरु भएपछि बाँडिरहेको देखिएको छ ।

नगराइन नगरपालिका वडा नम्बर–५ का वडाध्यक्ष रामनारायण मुखिया जाडोबाट जोगिन भन्दै आफ्नो वडाका जेष्ठ नागरिक, दलित विपन्न तथा अपाङ्गलाई सिरक वितरण गरिरहेका छन् ।

यसअघि वडा नम्बर–७ का वडाअध्यक्ष सूर्यनारायण साहले पनि आफ्ना वडाबासीलाई फाइबार सिरक वितरण गरेका थिए ।

वडा कार्यालयले नगरप्रमुख विनयकुमार यादवको उपस्थितीमा वडा नम्बर–५ का सयौं जेष्ठ नागरिक, दलित विपन्न तथा अपाङ्गलाई कम्बल वितरण गरेको छ ।

वडाध्यक्ष मुखियाले नगरपालिकामा लामो विवादपश्चात् गत माघ १८ गते नगरसभा हुँदा ढिलो भएकोले जाडोमा कम्बर वितरण गर्न नसकिएको बताए । गर्मी सुरु भएपछि कम्बल वितरण गरिएपनि आगामी जाडोमा काम लाग्ने वडाध्यक्ष मुखियाको भनाइ छ ।

यता, स्थानीयले भने शितलहरमा जसोतसो गुजारा गरेका नगरवासीलाई गर्मीमा कम्बल वितरण गरेर वडा कार्यालयले मजाक नै बनाएको गुनासो गरेका छन् ।

यसअिघ जाडो र शितलहरमा गरीब विपन्नहरु प्रभावित भएको बेला न्यानो सिरक नदिएका वडाध्यक्षहरुले गर्मीमा सिरक र कम्बल बाँड्दा स्थानीयले उनीहरुको नैतिकता र कार्यशैलीमाथि पनि प्रश्न उठाएका छन् ।