धनौजी गाउँपालिकाको कामकाज ठप्प, कर्मचारीहरू ‘पेन डाउन’ गरी आन्दोलनमा

जनकपुरधाम, २२ चैत । धनुषाको धनौजी गाउँपालिकाका कर्मचारीहरु कार्यालयको कामकाज ठप्प गरी आन्दोलनमा उत्रिएका छन् ।
उनीहरु बुधबारदेखि ‘पेन डाउन’ गरी वडा कार्यालयदेखि गाउँपालिकासम्मका सम्पूर्ण कामकाज ठप्प पारेका हुन् । वारुण यन्त्र, स्वास्थ्यका आकस्मिक सेवा र विद्यालयमा अध्यापनबाहेकका सबै कामकाज ठप्प गरी कर्मचारीहरु आन्दोलित बनेका छन् ।
स्थानीय उपभोक्ता समितिका पप्पु राउतलगायतका व्यक्तिहरुले मंगलबार उपभोक्ता समितिको बक्यौता रकम माग गर्दै प्रमुख प्रशासकीय अधिकृत रञ्जित कुमार यादवलाई दुर्व्यवहार गरेको आरोप लगाइएको छ । त्यसैको विरोधमा कर्मचारीहरु आन्दोलित भएका हुन् ।
उपभोक्ता समितिका व्यक्तिहरुले प्रमुख प्रशासकीय अधिकृत यादवको टेबल तोडफोड गर्दै गालीगलौजमा उत्रेपछि तनाव भएको थियो । कार्यालयमा तनाव र कर्मचारी आन्दोलित भएपछि कामकाज ठप्प गरिएको छ ।
उनीहरुले कर्मचारीसँग दुर्व्यवहार गरी मानसिक तनाव दिएकोले आन्दोलन गर्नु परेको लेखापाल राधेश्याम रायले बताए ।
‘कर्मचारीसँग दुर्व्यवहार गरेकोले कानुनी कारबाही नभएसम्म काममा फर्किंदैनौं,’ रायले भने, ‘गाउँपालिका अध्यक्ष र सम्बन्धित निकायमा हामीले लिखित उजुरी गरेका छौं ।’

कर्मचारीहरुको लिखित उजुरीसँगै कामकाज अवरुद्ध भएकाले गाउँपालिका अध्यक्ष राजकुमार साहले समेत यस्ता उच्छृङखल गतिविधिविरुद्ध कानुनी कारबाही गर्न माग गरेका छन् ।
धनौजी गाउँपालिकाले ९० उपभोक्ता समितिमध्ये ७४ वटाको करिब साढे ३ करोड रुपैयाँ गत वर्षकै भूक्तानी गर्न बाँकी रहेको छ ।
सडक, नाला, ग्राभेललगायतका कामहरुको बक्यौता तिर्न बाँकी रहेको उपभोक्ता समितिहरुको भनाइ छ ।
यता, कर्मचारीहरुले कागजी प्रक्रिया नपुगेकोले भुक्तानीमा समस्या भइरहेको बताएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


