अब इम्बोस्ड नम्बर प्लेटमा देवनागरी लिपिमा पनि लेख्न सकिने

काठमाडौं, २१ चैत । सवारी साधनको इम्बोस्ड नम्बर प्लेटमा देवनागरी लिपिमा पनि लेख्न सकिने भएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को अनुसूची–२ मा हेरफेर गर्न स्वीकृति दिने निर्णय गरेको हो ।
सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी अक्षर र अंक लेख्न मिल्ने व्यवस्थामात्र रहेकोलाई संशोधन गरेर देवनागरी लिपिमा पनि लेख्न मिल्ने व्यवस्था थप गरिएको बताइन् ।
‘इम्बोस्ड नम्बर प्लेटमा नेपाली र अंग्रेजी दुबै भाषामा लेख्न सकिने कानुनी व्यवस्था गरेका हौं’ मंगलबार मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा उनले भनिन् ।
उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सम्हालेका बेला इम्बोस्ड नम्बर प्लेट देवनागरी लिपिमा पनि लेख्ने व्यवस्था गर्ने बताउँदै आएका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


