सप्तरी, २१ चैत । जनता समाजवादी पार्टी (जसपा) नेपाल सप्तरीका जिल्ला अध्यक्ष केदारप्रसाद यादवलाई प्रहरीले कुटपिट गरेको आरोप लगाइएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत प्रहरी निरीक्षक नवीन थापाले यादवलाई कुटपिट गरेको आरोप लगाइएको हो ।

कुनै घटनाबारे विस्तृत बुझ्न जिल्ला प्रहरी कार्यालय पुगेका जसपा अध्यक्ष यादवलाई इन्स्पेक्टर थापाले मरनासन्न हुने गरि कुटपिट गरेको बताइएको छ ।

प्रहरी निरीक्षक थापाको कुटाईबाट नेता यादवको टाउकोमा गम्भीर चोट लागेको छ । कुटपिटबाट घाइते भएका उनको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा उपचार भइरहेको जसपा नेपालका बिद्यार्थी नेता श्याम कुमार यादवले जानकारी दिए ।

यसैबिच, इन्स्पेक्टर थापाले नेता यादवलाई कुटपिट गरि घाइते बनाएको विरोधमा जसपाका नेता तथा कार्यकर्ताहरू राजविराजमा प्रहरीको बिरोधमा प्रदर्शनमा उत्रेका छन् ।

उनीहरूले जिल्ला प्रहरी कार्यालय सप्तरीको मुल गेटमा टायर बालेर प्रर्दशन गरेका छन् ।

यता, नेपाल पत्रकार महासंघ सप्तरीले पनि समाचार संकलनका लागि जिल्ला प्रहरी कार्यालय पुगेका पत्रकारलाई प्रहरीले अवरोध पुर्याएको घटनाप्रति भत्र्सना गरेको छ ।

महासंघका सचिव रामनारायण विश्वासले एक विज्ञप्ती निकाल्दै संविधान प्रदत्त अधिकारलाई लत्याउँदै सप्तरी प्रहरीले समाचार संकलनमा पत्रकारलाई अवरोध पुर्याएको जिकिर गरेका छन् ।

विज्ञप्तीमा लेखिएको छ, ‘जनता समाजवादी पार्टी सप्तरीका अध्यक्ष केदारप्रसाद यादवमाथि जिल्ला प्रहरी कार्यालयमै एकजना प्रहरी निरीक्षकबाट कुटपिट भएको सूचना प्राप्त हुनासाथ पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष वैद्यनाथ यादवको नेतृत्वमा पत्रकारहरूको टोली समाचार संकलन गर्न जिल्ला प्रहरी कार्यालय पुगेका थिए । तर, निमित्त प्रहरी प्रमुख डिएसपी नरेशकुमार सिंहको आदेशमा पत्रकारलाई जिल्ला प्रहरी कार्यालय प्रवेशमा रोक लगाउँदै समाचार संकलनमा बन्देज लगाइएको छ । समाजलाई सु–सुचित गर्ने अधिकार बोकेका पत्रकारलाई घटना सम्बन्धी यर्थात जानकारी प्रहरीले नगराउनु भएको स्वतन्त्र प्रेसमाथि हस्तक्षेप भएको हाम्रो ठहर छ ।’

आगामी दिनमा समेत यस्ता कदम नसच्याए प्रहरीविरुद्ध महासंघ संघर्षमा उत्रिन बाध्य हुने विज्ञप्तीमार्फत चेतावनीसमेत दिइएको छ ।