सर्लाहीमा काट्दै गरेको रुख ढल्दा किचिएर एक महिलाको मृत्यु

सर्लाही, २० चैत । सर्लाहीमा काट्दै गरेको रुख ढल्दा किचिएर एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भारत बिहारको सितामढी जिल्ला नगरनिगम १८ बस्ने ५० वर्षीय तुरन्ती देवी रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कैलाश राईले काट्दै गरेको रुख एक्कासी ढल्दा किचिएर पैदलयात्री महिलाको मृत्यु भएको जानकारी दिए ।
सर्लाहीको मलंगवा नगरपालिका वडा नम्बर–६ खुटौनामा बाटोमा हिडिंरहेकी उनीमाथि एक्कासी रुख ढलेको थियो । महिलामाथि आफन्तलाई भेटेर आफ्नो घर फर्किंदै गरेको अवस्थामा रुख ढलेको डीएसपी राईले जानकारी दिए ।
मृतकको शव पोष्टमार्टमका लागि मलंगवा अस्पतालमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको सर्लाही प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


