जनकपुरधाम, २० चैत । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–२३ को वडा कार्यालय साविककै ठाउँमा सुचारू गर्नुपर्ने माग गर्दै स्थानीयबासी आन्दोलित भएका छन् ।

सुरूदेखि नै बिन्धीमा रहेको जनकपुरधाम–२३ को वडा कार्यालयलाई लादोबेलामा सारेको भन्दै वडाध्यक्ष राघवेन्द्र साहविरूद्ध स्थानीय आन्दोलनमा उत्रेका हुन् ।

बिन्धीस्थित वडा कार्यालयमा वडाध्यक्ष र सचिव विगत केही दिनदेखि नबस्दा स्थानीयको कामकाज प्रभावित भएको भन्दै उनीहरूले सोमबार वडा कार्यालय सुचारू गर्नुपर्ने माग गर्दै शान्तिपूर्ण धर्नामा बसेका छन् ।

स्थानीय चन्दन रायले साह वडाध्यक्षमा निर्वाचित भएर आएदेखि नै सो वडामा जातीय तथा क्षेत्रीय द्वन्द फैलाउनुका साथै वडाबासीहरूको ब्रेनवास गरी आपसमै मतभेद गराउन खोजेको आरोप लगाएका छन् ।

वडाध्यक्ष साहले गैरकानुनी रूपले कुनै लिखित सूचना नदिई कसैको जानकारी बिना वडा कार्यालयलाई आफू अनुकूल अन्यत्र सारेर अस्थायी वडा कार्यालय निर्माण गरी बस्दै आएको पूर्ववडाध्यक्ष शत्रुधन पाण्डेको गुनासो छ ।

धर्नामा बसेका उनीहरूले साविकको ठाउँमा छिटोभन्दा छिटो वडा कार्यालय सञ्चालन गर्नुपर्ने माग गरेका छन् । साविकको ठाउँमा वडा कार्यालय चाँडै सुचारू नभए कडा रूपमा अगाडि बढ्ने बिन्धीबासीले चेतावनीसमेत दिएका छन् ।

वडा कार्यालय सार्ने विषयलाई लिएर बिन्धीबासीले लगातार विरोध गर्दै आएका छन् । बिन्धीमा वडा कार्यालय रहँदा सबैलाई पायक पर्ने, सबै वडाबासीहरूलाई सहज बाटोको व्यवस्था भएकोले पनि सो कार्यालय अन्यत्र सार्न नहुने स्थानीयको भनाइ छ ।

यसैबिच, जनकपुरधाम उपमहानगरपालिकाले पनि वडा नम्बर–२३ को वडा कार्यालय साविककै भवनमा सञ्चालन गर्न पत्राचार गरेपनि वडाध्यक्ष साहले उपमहानगरको निर्णयलाईसमेत अटेर गरेका छन् ।

उपमहानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत मेहिलाल यादवले गत चैत ९ गते वडाध्यक्षलाई पत्राचार गर्दै साविकदेखि बिन्धीमा सञ्चालन हुँदै आएको वडा नम्बर–२३ को वडा कार्यालयलाई साविककै भवनमा यथाशिघ्र सञ्चालन गर्न निर्देशन दिएपनि वडाध्यक्ष साहले अटेर गरेको स्थानीयको गुनासो छ ।

वडाध्यक्ष साहले आफ्नो वडाबाट हुने कामहरू चैत ८ गतेदेखि गोविन्द सेवा समिति दुधमती पुल बेलाबाट सञ्चालन गरिरहेका छन् ।

यता, यस सम्बन्धमा वडाध्यक्ष साहले आफूले कानुनसम्मत तरिकाले वडाको काम सञ्चालन गरिरहेको दाबी गरेका छन् ।

उनले बिन्धीमा वडा कार्यालयको निजी भवन नहुँदा अव्यवस्थित तरिकाले सञ्चालन भइरहेको अवस्थामा कार्य सञ्चालन गर्न असहजता उत्पन्न भएको बताए । उनले तत्कालका लागि मात्र गोविन्द सेवा समिति दुधमती पुल बेलाबाट कार्यालय सञ्चालन भइरहेको जानकारी दिए ।

उनले भने, ‘म निर्वाचित जनप्रतिनिधि हुँ, मेरो पनि केही अधिकार क्षेत्र होला । त्यसको प्रयोग मैले गर्न पाउनु पर्दछ ।’

वडाध्यक्ष साहले यसअघि दुई/दुई पटक वडा कार्यालयको निजी भवन निर्माणका लागि उपमहानगरले बजेट उपलब्ध गरएपनि पूर्ववडाध्यक्षले भवन निर्माण नगरी बजेट फ्रिज गराएको बताए । वडामा रहेको ९०३ नम्बर कित्ताको जग्गा अलपत्र परेको अवस्थामा भवन निर्माणका लागि ३५ लाख रुपैयाँ बोर्ड निर्णयबाट बजेट निकासा गर्न लगाएको र चाँडै भवन निर्माणको प्रक्रिया अगाडि बढाइने वडाध्यक्ष साहले बताए ।

उनले यस वडामा काम गर्न असहज रहेको र हरेक कुरालाई राजनीतिक मुद्दा बनाउन खोजिएको गुनासोसमेत गरे । केही व्यक्तिहरू वडा भेलामा उपस्थित नै नभई आपसमै आन्तरिक द्वन्द्व गराउन उद्धत रहेको उनको आरोप छ ।