जनकपुरधाम, १६ चैत । चैत शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्वको अवसरमा बिहीबार बिहानैदेखि जनकपुरधामस्थित राममन्दिर र जानकी मन्दिरमा पूजापाठ गर्न श्रद्धालुको घुइँचो लागेको छ ।

रामनवमीमा सहभागी हुन नेपाल तथा भारतबाट हजारौंको संख्यामा श्रद्धालुहरू जनकपुरधाम दर्शनका लागि आएका हुन् ।

त्रेतायुगमा आजकै दिन अयोध्यामा मर्यादा पुरुषोत्तम भगवान रामको जन्म भएको पौराणिक ग्रन्थहरुमा उल्लेख छ ।

आजको दिन देशभरी रामको स्मृतिमा पवित्र नदी, ताल तथा कुण्डमहरुमा स्नान ध्यान गरी व्रत बसेर रामगीता पाठ, अध्यात्म वाल्मीकि र तुलसीकृत–रामायण वाचन गर्नुका साथै भगवान रामको पूजाआराधना गरी रातभरी भजनकीर्तन र जाग्राम बस्ने परम्परा छ ।

अयोध्याका राजा दशरथको ज्येष्ठ पुत्र राम भगवान विष्णुको सातौँ अवतारको रुपमा जन्मेको धार्मिक ग्रन्थमा उल्लेख छ । रामले मिथिलाका राजा जनकका पुत्री सीतासँग विवाह गरेका थिए ।

यो पर्व चैती नवरात्रीको बीचमै परेकाले आजको दिन भगवान रामका साथै आदिशक्ति नव दुर्गा देवीको समेत पूजाआजा गरिन्छ ।

रामनवमीको अवसरमा मधेस प्रदेश सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ ।

हेर्नुहोस् तस्बिरहरू :