जनकपुरधाम, १५ चैत । चुरे तथा वनजंगल संरक्षण अभियानले मधेस प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।

अभियानसँग प्रदेश सरकारले गरेको सम्झौता कार्यान्वयन नभएको भन्दै उद्योग, पर्यटन तथा वन राज्यमन्त्री रहवर अन्सारीलाई ज्ञापनपत्र बुझाएको हो ।

बुधवार अभियानका राष्ट्रिय संयोजक सुनिल कुमार यादवले राज्यमन्त्री रहवर अन्सारीलाई ज्ञापनपत्र बुझाउँदै सम्झौता कार्यान्वयमा गम्भीरताका साथ लाग्न र वनक्षेत्रमा भइरहेको व्यापक अनियमिताको छानविन गरि दोषीमाथि कानुनी कारवाही गर्न माग गरेका छन् ।

राज्यमन्त्री अन्सारीलाई बुझाइएको ज्ञापनपत्रमा २०७८ भदौ ४ गते अभियानसँग सम्झौता कार्यान्वयन गर्दा भ्रष्टाचार सम्वन्धमा प्रदेश वन निर्देशनालयका प्रमुख जगरनाथ प्रसाद जयसवालको विभिन्न दबाब, लोभ लालच र प्रलोभनमा तयार गरिएको प्रतिवेदन अभियानले नमानेको र यसको पुनः उच्चस्तरिय छानविनको माग गरिएको छ ।

डिभिजन वन कार्यालय पर्सामा आर्थिक वर्ष ०७७/७८ मा सखुवा पर्सौनी गाउँपालिका वडा नम्बर–१ सखुअनिया टोलमा अतिक्रमण हटाई ६० हेक्टरमा तारबारसहित वृक्षारोपण भएको र त्यसपछि गोडमेलको नाउँमा लाखौं रुपैयाँ निकासी र हेरालु पनि राखिएको तर डिएफओ सुभाषचन्द्र दासको मिलेमतोमा सोहि क्षेत्र र वनको अन्य क्षेत्रमा घर निमार्ण गरिएकोले दासलाई तत्काल प्रदेशमा झिकाई छानविन गर्न माग गरिएको छ ।

ज्ञापनपत्रमा विभिन्न किसिमका अनियमितता भएका प्रमाण र ठाँउ छानविन समिति गठन भएपछि उपलब्ध गराउने उल्लेख छ ।

ज्ञापनपत्र बुझदै राज्यमन्त्री अन्सारीले वन क्षेत्रमा भइरहेको अनियमितता सम्वन्धमा सरकार गम्भीर रहेको र छिटै यस विषयमा खोजबिन गरि दोषीलाई कानुनी कारवाहीको दायरामा ल्याउने प्रतिवद्धता जनाए ।