रौतहट, १५ चैत । रौतहटमा आगलागीमा परी एक बालिकाको मृत्यु भएको छ ।

जिल्लाको इशनाथ नगरपालिका–६ जयनगर टोलमा मंगलबार राति दुई घरमा आगलागी हुँदा मजिबुर रहमानका १२ वर्षीया छोरी राजिया खातुनको जलेर मृत्यु भएको हो ।

राति करिब १० बजे स्थानीय शेख इसरातको गोठबाट सल्केको आगो मजिबुरको घरमा फैलिंदा रजियासँगै सुतिरहेकी १० वर्षीया सजिया खातुनको पनि दुवै हात, अनुहार जलेर गम्भीर घाइते भएकी छन् ।

उनको स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि थप उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी बेस क्याम्प रामपुर खाप, प्रहरीचौकी जयनगरबाट सुरक्षाकर्मीको टोली पुगेर आगो नियन्त्रणमा लिएको थियो ।

आगलागीको कारणबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर बुढा मगरले बताए ।