जनकपुरधाम, १५ चैत । विद्युत प्राधिकरण मधेस प्रदेशका कर्मचारीहरु आन्दोलित बनेका छन् ।

गत फागुन ५ गते रौतहटको मौलापुरमा आम जनता पार्टीका जिल्ला अध्यक्ष त्रिभुवन साह उर्फ अमर साह र धिरज पाण्डेको नेतृत्वमा प्राधिकरणको कार्यालयमा पुगेको टोलीले कार्यालय प्रमुख एवं कर्मचारीमाथि हातपात गरेको भन्दै उनीहरु प्रदेशव्यापी रुपमा आन्दोलित भएका हुन् ।

अमर र धिरजको नेतृत्वमा करिब २०÷३० जनाको समुहमा नेपाल विद्युत प्राधिकरण मौलापुर वितरण केन्द्रमा पुगेका उनीहरुले कार्यालय प्रमुख अरुण कुमार साहलाई अभद्र व्यवहार गर्नुका साथै सहायक इन्जिनियर महेन्द्र चौधरीलाई कुटपिट गरेको भन्दै आरोपितलाई तत्काल कारवाही गर्न माग गरेका छन् ।

उनीहरुले सहायक इन्जिनियर चौधरीलाई विद्युत प्राधिकरणको विनियमावली विपरित अनाधिकृत रुपमा बिना मिटर डाइरेक्ट (हुकिङ्ग) लाइन जडान गर्न दबाब दिएका थिए ।

चौधरीले त्यस्तो गर्न नमान्दा उनीहरुले उनलाई कुटपिट तथा गालिगलौज गर्दै अपहरणशैलिमा जबर्जस्ती गाडीमा राखेर लगी अनाधिकृत रूपमा डाईरेक्ट (हुकिङ्ग) लाइन जडान गराएका थिए ।

कर्मचारीहरुले घटनामा संलग्न व्यक्तिहरुलाई हदैसम्मको कारवाहीको माग गरेका छन् । नेपाल विद्युत प्राधिकरण कर्मचारी संघ मधेश प्रदेशका अध्यक्ष राजकिशोर भिनवारले आम जनता पार्टीका अध्यक्ष त्रिभुवन साहको नेतृत्वमा २० जनाको समुहमा प्राधिकरणको कार्यालयमा आएर कार्यालय प्रमुख र सहायक इन्जिनियरलाई दुव्र्यवहारसहित कुटपिट गरेकाले शान्ति सुरक्षाको ग्यारेन्टी तथा अवैध विद्युत जडान गर्नेलाई कारवाहीलगायतका माग राख्दै आफूहरु आन्दोलनमा उत्रेको बताए ।

उनीहरुले नेपाल विद्युत प्राधिकरण मौलापुर वितरण केन्द्रका कर्मचारीलाई कुट्ने त्रिभुवन साह, धिरज पाण्डेलगायतका अराजक व्यक्तिहरुलाई तत्काल पक्राउ गरी कानूनी कारवाही गर्नुपर्ने, मौलापुर वितरण केन्द्र रहेको क्षेत्रका ७५ प्रतिशत जनतालाई पायक पर्ने ठाउँ शिवनगर अथवा गरुडामा वितरण केन्द्र स्थानान्तरण गर्नुपर्ने, राष्ट्रसेवक कर्मचारीहरुको शान्ति सुरक्षाको प्रत्याभुति गर्नुपर्ने, पीडितलाई सम्मानसहित क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने तथा मौलापुरको केही होटलहरु र मौलापुर वडा कार्यालयमा अनिाधिकृत विद्युत प्रयोग गरिरहेकोमा त्यसको नियन्त्रण गर्न क्षतिपूर्ति र बाँकी बक्यौता असुल उपर गर्न पर्याप्त शान्ति सुरक्षाको व्यवस्था गर्नुपर्ने माग राख्दै आन्दोलित भएका छन् ।

गत फागुन १५ गते रौतहटको मौलापुरमा भएको मघानी महायज्ञमा मौलापुर विद्युत वितरण केन्द्रलाई विद्युत जडानका महायज्ञ आयोजकले जडानका लागि भनेको थियो । तर वितरण केन्द्रका प्रमुख अरुणकुमार साहले विद्युत जडानका लागि निवेदन लेखेर दर्ता गराउन भनेपछि स्थानीय त्रिभुवन साहको अगुवाईमा २० जनाको समुहले गालीगलौज तथा कुटपिट समेत गरेको थियो ।

कर्मचारीहरुले बिहीबारदेखि थप आन्दोलन चर्काउने चेतावनी दिएका छन् । मधेस प्रदेशका २३ वितरण केन्द्रका कर्मचारीहरु आन्दोलित भएका छन् ।