जनकपुरधाम, १४ चैत । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवका प्रेस सल्लाहकार सिताराम अग्रहरि ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको नियम विपरित राजनीतिमा संलग्न भएका छन् ।

अग्रहरि ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको वर्तमान कार्यसमिति सदस्य हुन् । उनी कार्यसमितिका सदस्य रहेपनि राजनीतिक दलमा प्रत्यक्ष रुपमा सहभागी भएका छन् ।

ट्रान्सपरेन्सी इन्टरनेशनलको नियमानुसार संस्थाका पदाधिकारीहरू कुनैपनि राजनीतिक दलमा आवद्ध हुन नपाउने व्यवस्था छ । यदि प्रत्यक्ष राजनीतिमा संलग्न हुन चाहेमा नैतिकताका आधारमा राजीनामा दिनुपर्ने व्यवस्था छ । तर, अग्रहरि वर्तमान कार्यसमितिका सदस्य भएर पनि प्रत्यक्ष रुपमै राजनीतिक दलमा आवद्ध भई मुख्यमन्त्रीको प्रेस सल्लाहकारमा नियुक्ति लिएका छन् ।

स्रोतका अनुसार उनलाई राजनीमा बुझाउनका लागि ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले आग्रह गरेपनि हालसम्म उनले राजीनामा बुझाएका छैनन् ।

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको गत असोज २४ गते बसेको २७९औँ बैठकले अध्यक्ष पद्मिनी प्रधानाङ्गले संस्थाको असोज ७ गते सम्पन्न वार्षिक साधारणसभाबाट निर्वाचित सदस्यहरुमध्येबाट उपाध्यक्षमा वरिष्ठ पत्रकार शरच्चन्द्र वस्ती, महासचिवमा चार्टर्ड एकायन्टेन्ट मदनकृष्ण शर्मा, कोषाध्यक्षमा समाजसेवी सुनिता गुरुङ्गलाई मनोनयन गरेकी थिइन् ।

त्यस्तै, कार्यसमितिका अन्य सदस्यमा वरिष्ठ अधिवक्ता सविता भण्डारी बराल, वरिष्ठ पत्रकार सिताराम अग्रहरि, उद्योगी महेन्द्र नारायण श्रेष्ठ, वरिष्ठ पत्रकार हरिबहादुर थापा र राष्ट्रिय व्यवसायिक पहल प्रतिनिधि सरोज पाण्डेलाई मनोनयन गरिएको थियो ।

यसअघि १९९९ मा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष श्रीभद्र शर्मालाई राजनीतिक दलले बोलाएपछि उनले पदबाट राजीनामा दिएका थिए । त्यस्तै, संस्थापक सदस्य राधेश्याम अधिकारीले पनि राजनीतिक दलमा संलग्नता जनाउने भएपछि पदबाट राजीनामा दिएका थिए ।

डा.रामदयाल राकेश पनि कार्यसमिति सदस्य हुँदा उनले राजीनामा दिएका थिए । तर, अग्रहरिले हालसम्म राजीनामा दिएका छैनन् ।

मधेसका मुख्यमन्त्री यादवले अग्रहरिलाई गत फागुन २० गते प्रेस सल्लाहकारमा नियुक्त गरेका थिए । जसपा अध्यक्ष उपेन्द्र यादवको नजिकका पात्र भएकै कारण उनलाई मुख्यमन्त्री यादवले प्रेस सल्लाहकार नियुक्त गरेको स्रोतको दाबी छ ।

प्रेस सल्लाहकारको नियुक्ती लिएपछि अग्रहरिले आफू मधेस प्रदेशको नयाँ दायित्वमा आएको हुँदा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको कार्यसमिति सदस्य पदबाट मुक्त भएको भन्दै गत चैत ६ गते सामाजिक सञ्जालमा पोष्ट्याएको देखिन्छ ।