काठमाडौं, १४ चैत । मिटर ब्याज पीडितसँग वार्ता गर्न सरकारले समिति गठन गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय र कानुन मन्त्रालयका प्रतिनिधिसहितको वार्ता समिति गठन गरेका हुन् ।

समितिमा गृह मन्त्रालयका सहसचिव रुद्रादेवी शर्मा, गृह मन्त्रालयकै उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका उपसचिव उमाकान्त अधिकारी र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव जंगबहादुर डङ्गा छन् ।

चार सदस्यीय यो टोलीले मिटरब्याज पीडितसँग भेट्ने प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए । उनका अनुसार प्रधानमन्त्री प्रचण्डले पनि आजै मिटरब्याज पीडितसँग भेट्ने तयारी गरेका छन् ।

तराईका विभिन्न जिल्लाबाट सोमबार मात्र मिटरब्याज पीडितहरू काठमाडौं पुगेका थिए । उनीहरूले बिहानैदेखि काठमाडौंमा प्रदर्शन गरिरहेका छन् ।