जनकपुरधाम, १४ चैत । मिथिला क्षेत्रमा श्रद्धा र निष्ठापूर्वक मनाइने वसन्ती छठ पर्व मंगलबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सम्पन्न भएको छ ।

चैत शुक्ल चतुर्थीदेखि सप्तमी तिथिसम्म चारदिन विभिन्न विधिविधानका साथ मनाइने पर्वको चौथो दिन मंगलबार बिहान बर्तालुले उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व सम्पन्न भएको हो ।

गत शनिबार चैत शुक्ल चतुर्थीका दिन ‘नहाय–खाय’ (पवित्र स्नान गरेर शुद्ध खाने) विधिबाट पर्व प्रारम्भ गरेका बर्तालुले आइतबार पञ्चमी तिथिमा ‘खरना’ विधि सम्पन्न गरेका थिए भने षष्टि तिथिमा सोमबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका थिए ।

अघ्र्यमा फलफूल र ठकुवा (गहुँको पिठोबाट बनाइएको मिष्टान्न परिकार), भुसुवा (कसार) र अन्य परिकार राखिएको डाला उठाई सूर्यदेवलाई देखाइन्छ । कम्मरसम्म पानीमा चोवलिएर सूर्यलाई अघ्र्य दिने यो विधिलाई मिथिलामा ‘सझुका अरख’ भनिन्छ ।

त्यस्तै, सप्तमी तिथिका दिन मंगलबार बिहान उदाउँदो सूर्यलाई यिनै प्रसाद सामग्री देखाएर अघ्र्य दिई बर्तालुले व्रत समापन गरेका छन् । यो विधिलाई मिथिलाको बोलीचालीमा ‘भोरका अरख’ भनिन्छ ।

शरद र वसन्त ऋतुमा गरी वर्षमा दुईपटक मनाइने छठ सूर्य उपासनाको पर्व हो । शरद ऋतुमा कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म र वसन्त ऋतुमा चैत शुक्ल चौथीदेखि सप्तमीसम्म समान विधिले यो पर्व सम्पन्न गरिन्छ ।

मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा छठ जनजन परिचालन हुने महापर्व मानिन्छ । यद्यपि शारदीय छठ जति यो पर्व मनाउने भने देखिँदैनन् । छठ सूर्य र सूर्यपत्नी षष्टीको उपासनाको पर्व हो । यो व्रतको प्रभावले हरेक मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ । मिथिलामा यो पर्व द्वापर युगमा श्रीकृष्ण पुत्र साम्बले कुष्टरोग निवारणका लागि गरेका र त्यसैबेलादेखि प्रारम्भ भएको मानिन्छ ।

यस्तै महाभारतकालमै पाण्डवले गुप्तवास सफलताको कामना गरेर सूर्यदेवको आराधना गरेका जनश्रुति पनि छ । यो व्रत प्रभावले छालाजन्य रोग कहिल्यै नलाग्ने जनविश्वास छ । चैती छठजस्तै चैत शुक्ल प्रतिपदासँगै वसन्ती नवरात्र (चैते दसैँ) पनि मनाइँदैछ । चैत शुक्ल प्रतिपदादेखि नवमीसम्म वासन्ती नवरात्र मनाइन्छ ।

यसैबिच छठको अवसरमा जनकपुरधामको गंगासागरमा श्रद्धालुभक्तजनको विशेष रौनकता देखिएको थियो ।

कार्तिक महिनामा हुने छठ झैं चैती छठ विधिपूर्वक सम्पन्न भएको हो । जनकपुरधाम स्थित गंगासागर ,अंगराज सागरलगायतका पोखरी तलाउहरुलाई बेहुली झैं सिंगारिएको थियो ।