गाईको मासु बेच्नेलाई कारबाही गर्न मधेसी आयोगद्वारा गृहलाई पत्राचार

काठमाडौं, १३ चैत । मधेसी आयोगले गाईको मासु बेच्ने वीरगञ्ज महानगरपालिकास्थित चिकेन स्टेसनलाई कारबाही गर्न गृह मन्त्रालयलाई पत्राचार गरेको छ ।
आयोगका अध्यक्ष डा.विजयकुमार दत्तको निर्देशनमा आयोगले गृह मन्त्रालयलाई चिकेन स्टेसनलाई कारबाही गर्न पत्राचार गरेको हो ।
हिन्दु परिषद् नेपालका केन्द्रीय सदस्य अरुण झाले सञ्चालन गरेको चिकेन स्टेसनले रमदानको अवसरमा गाईको मासुको परिकारमा विशेष छुट सम्बन्धी सामाजिक सञ्जालमार्फत प्रचार गरेपछि विभिन्न हिन्दु संघ संगठनहरूले मधेसी आयोगमा राष्ट्रिय जनावर गाईको मासु बेच्ने चिकेन स्टेसनलाई कारबाही गर्न उजुरी दर्ता गराएका थिए ।
अध्यक्ष डा.दत्तले राष्ट्रिय जनावर तथा हिन्दु धर्मावलम्बीहरूले पूजा गर्ने गाईको मासु बेच्नु गैरकानुनी क्रियाकलाप रहेको बताउँदै आयोगले यस विषयमा तुरुन्त कारबाही गर्न गृहलाई पत्र पठाइएको बताए ।
आयोगले सामाजिक सञ्जाल फेसबुकमा मो.कबिर नाम गरेको व्यक्तिले हिन्दु धर्मका देवी देवताहरूमाथि अपशब्द प्रयोग गरी सम्पूर्ण हिन्दु धर्मावलम्बीहरू माथि प्रहार गर्नेलाई समेत कानुनी दायरामा ल्याउन प्रहरी प्रधान कार्यालयलाई पत्र काटेको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


