जनकपुरधाम, १३ चैत । काठमाडौं वर्ल्ड स्कुलले जनकपुरधाममा शैक्षिक कार्यक्रमको आयोजना गर्न लागेको छ ।

‘राम्रो भविष्यका लागि शिक्षा’ मूल नाराका साथ काठमाडौं वर्ल्ड स्कुलले सुरु गरेको ‘वर्ल्ड स्कुलको नेपाल टुर’ले जनकपुरधाममा शैक्षिक कार्यक्रम आयोजना गर्न लागेको हो ।

काठमाडौं वर्ल्ड स्कुलले जनकपुरधामस्थित मिथिला यात्री निवासमा आगामी शनिबार शैक्षिक कार्यक्रमको आयोजना गर्न लागेको स्कुलका चेयरमेन ई.डा.मिथिलेशकुमार झाले जानकारी दिए ।

कार्यक्रममा स्कुलका चेयरमेन डा. झा र प्रिन्सिपल केशर बहादुर खुलालले आफ्नो अनुभव आदानप्रदान गर्नुका साथै वर्ल्ड स्कुलमा हुने पढाई र विद्यार्थीले अहिलेसम्म गरेको प्रगतिबारे जानकारी दिनेछन् ।

यस कार्यक्रमले मधेसको शैक्षिकस्तर सुधारमा योगदान पुर्याउने डा. झाको विश्वास छ । यस स्कुलले आधुनिक, वैज्ञानिक र प्रविधियुक्त शिक्षण पद्धति अपनाएर छात्रछात्रालाई उच्चकोटिको शिक्षा दिन विशेष कक्षाहरू सञ्चालन गर्नेबारे जानकारी दिइने उनले बताए ।

पढ़ाई र सिकाईका लागि कक्षाकोठा भित्रको सिकाइ मात्र पर्याप्त नहुने र अन्य व्यक्तित्व विकास, क्षमता विकास तथा प्रयोगात्मक अभ्यासलाई समेत अघि बढाउनुपर्ने मान्यताका साथ वर्ल्ड स्कुलले आफ्नो शिक्षण पद्धतिलाई अगाडि बढाउँदै आएको झाले जानकारी दिए ।

मधेस प्रदेशलाई लक्षित गरेर जनकपुरधामसँगै वीरगञ्ज, राजविराज लगायतका स्थानमा यस कार्यक्रमको आयोजन हुन लागेको बताइएको छ ।

काठमाडौं वर्ल्ड स्कुलले यसअघि कोशी प्रदेशको धरान, विर्तामोड़, इटहरी लगायतका स्थानहरुमा पनि कार्यक्रम सम्पन्न गरिसकेको छ ।