सिरहाबाट बैंकको लाखौं रकम लुटपाटमा संलग्न तिनजना पक्राउ

सिरहा, १३ चैत । सिरहा प्रहरीले बैंकको लाखौं रकम लुटपाटमा संलग्न रहेका तिनजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिरहाको लहान नगरपालिका वडा नम्बर–१३ सुकरामपुर टोल बस्ने ३६ वर्षीय जिवछ बिक, लहान नगरपालिका वडा नम्बर–१९ छपरारी टोल बस्ने ४७ वर्षीय सत्यनारायन मण्डल र कल्याणपुर नगरपालिका वडा नम्बर–८ अरङ्ग टोल बस्ने ४५ वर्षीय श्याम कुमार यादव रहेका छन् ।
गत फागुन १० गते जिल्लाको मिर्चैया नगरपालिका वडा नम्बर–३ बताहा पुलस्थित कल्याणपुर जाने बाटोमा ग्लोबल आई.एम.ई. बैंकको कल्याणपुर शाखामा काम गर्ने कर्मचारीले मिर्चैयाको ग्लोबल आई.एम.ई बैंकबाट ९ लाख रुपैयाँ निकालेर ज.६.प. ८१८५ नम्बरको मोटरसाइकलमा सबार भई कल्याणपुरतर्फ जाने क्रममा नम्बर नखुलेको मोटरसाइकलमा गएका ४ जना अपरिचित व्यक्तिहरुले पेस्तोल देखाई उक्त रकम खोसेर भागेका थिए ।
मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधाम, जिल्ला प्रहरी कार्यालय सिरहा तथा इलाका प्रहरी कार्यालय मिर्चैया लगायत मातहतको प्रहरी टोलीले प्रविधिको प्रयोग गरि सुक्ष्म अनुसन्धान गर्ने क्रममा चैत ९ गते सिरहा नगरपालिकास्थत हेमनारायण चोकबाट घटनामा संलग्न तिनजनालाई पक्राउ गरेको थियो ।
पक्राउ परेका उनीहरुमाथि शरिर बन्धक तथा डाँका मुद्दामा सिरहा जिल्ला अदालतबाट ७ दिनको म्याद लिई इलाका प्रहरी कार्यालयबाट थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका निमित्त प्रवक्ता तथा सुचना अधिकारी प्रहरी निरीक्षक शंकर प्रसाद चौधरीले जानकारी दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


