पर्सा, १२ चैत । चुरे तथा वनजंगल संरक्षण अभियानीहरूले पर्साको वीरगञ्जमा विरोध प्रदर्शन गर्नुका साथै जिल्ला प्रशासन कार्यालयसमेत घेराउ गरेका छन् ।

भूमि अधिकार तथा चुरे वनजंगल संरक्षणलगायतको पाँचसूत्रीय मागसहित चुरे तथा वनजंगल संरक्षण अभियानीहरूले आइतबार वीरगञ्ज महानगरपालिकामा विरोध प्रदर्शन गर्नुका साथै जिल्ला प्रशासन कार्यालयसमेत घेराउ गरेका हुन् ।

जनआवाज आन्दोलनअन्तर्गत अभियानका राष्ट्रिय सह–संयोजक रानि रायको नेतृत्वमा विरोध प्रदर्शन तथा घेराउ गरिएको चुरे तथा वनजंगल संरक्षण अभियानका राष्ट्रिय संयोजक सुनिल यादवले जानकारी दिए । प्रदर्शनमा १५० भन्दा बढिको संख्यामा अभियानीहरू सहभागी थिए ।

संयोजक यादवले प्रदेश सरकारसँग भूमि व्यवस्थाको अधिकार हुँदाहुँदै केही गर्न नसक्नु सरकारको निक्कमापन रहेको आरोपसमेत लगाए । उनले निर्वाचनका क्रममा सुकुम्बासी तथा पीडित जनताका समस्याप्रति गम्भिर नरहेको आरोप समेत लगाए ।

चुरे तथा वन जंगल संरक्षण अभियान र मधेस प्रदेश सरकारबीच विगतमा भएको सातबुँदे सहमति कार्यान्वयन गर्न पहल गर्नुपर्ने, अवैध क्रसर उद्योगहरूको गतिविधिउपर तत्काल रोक लगाउनुपर्ने र दिलीप महतोलाई पर्यावरणीय सहिद घोषणा गर्नुपर्नेलगायतका माग अघि सार्दै आइरहेका छन् ।

भूमिहीन तथा सुकुम्वासीको आवासको हक मौलिक हकको रूपमा धारा ३७ मा व्यवस्था भएकोले राज्यले गम्भीरताका साथ संविधानको कार्यान्वयनमा तदारुकता देखाउनुपर्ने भन्दै सुकुम्बासी आन्दोलनकारी फागुन ११ गतेदेखि जनकपुरधामको जनकचोकमा धर्नामा बसेका छन् ।