काठमाडौं, १२ चैत । राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो भ्रमणलाई ‘सवारी’ नभन्न आग्रह गरेका छन् ।

आइतबार गोरखा दरबारको अवलोकन र गोरखकालीमा पूजापाठपश्चात् गोरखा संग्रहालय परिसरमा जिल्लाका सरोकारवालासँग भेटघाट गर्दै उनले यस्तो आग्रह गरेका हुन् ।

उनले भने, ‘सवारी शब्दको रुढ मिनिङ हुन्छ, यसलाई सामन्तवादको प्रतीकको रुपमा लिइन्छ । त्यसैले अघिपछि गाडीको सन्दर्भमा प्रयोग गरेपनि भ्रमणको सन्दर्भमा सवारी शब्द प्रयोग नगरौं ।’

सवारी शब्दको ठाउँमा आवागमन शब्द प्रयोग गर्न उनले सुझाए । गणतन्त्र र राजतन्त्रको राष्ट्राध्यक्षबीच फरक हुने भन्दै पौडेलले आफूले यस्ता विषय राष्ट्रपति चुनावकै बेलादेखि हेक्का राख्दै आएको समेत बताए । राष्ट्रियता र प्रजातन्त्रको संरक्षण र सम्वद्र्धन गर्ने आफ्नो प्रमुख जिम्मेवारी र कर्तव्य रहेको उनले बताए ।

नेपालको तेस्रो राष्ट्रपति निर्वाचित भएपश्चात काठमाडौ बाहिरको पहिलो भ्रमण ऐतिहासिक र धार्मिक महत्वको जिल्ला गोरखामा गर्न पाएको भन्दै उनले खुशी व्यक्त गरे । ठूलोआँगनस्थित पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका पौडेलले आफूले गोरखामा राम शाह र बिसे नगर्ची पनि सम्झिएको बताए ।