सर्लाही क्याम्पसको निर्वाचन बदर हुनुपर्ने माग गर्दै अदालतमा मुद्दा

जनकपुरधाम, १२ चैत । सर्लाहीको मलंगवा नगरपालिकास्थित सर्लाही क्याम्पसको स्ववियु निर्वाचन बदर हुनुपर्ने माग गर्दै उच्च अदालत, जनकपुरमा रिट दायर गरिएको छ ।
लोकतान्त्रिक विद्यार्थी संघका केन्द्रीय सदस्य श्याम बिहारी साह केशरी र समाजवादी विद्यार्थी युनियनका केन्द्रीय अध्यक्ष रमेश कुमार यादवले उत्प्रेषण मिश्रीत परमादेशको आदेश माग गर्दै उच्च अदालत, जनकपुरमा रिट दायर गरेका हुन् ।
उनीहरुले सर्लाहीको मलंगवा नगरपालिका वडा नम्बर–४ स्थित सर्लाही क्याम्पस, क्याम्पसका क्याम्पस प्रमुख, सर्लाही क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन समिति, स्वतन्त्र विद्यार्थी युनियनको नयाँ कार्यसमिति, त्रिभुवन विश्वविद्यालय सभा तथा कार्यकारी परिषद्को सचिवालय किर्तिपुर र विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालय त्रिभुवन विश्वविद्यालय किर्तिपुरमाथि मुद्दा दायर गरेका छन् ।
दायर रिटमा सर्लाही क्याम्पसमा मिश्रीत निर्वाचन प्रणाली (प्रत्यक्ष र समानुपातिक) बाट निर्वाचन नगराई सबै पदमा प्रत्यक्ष प्रणालीबाट मात्र गराइएको र मतपत्र समेत निर्देशिका बमोजिम समुह संगठनको उम्मेदवारको अलग अलग नाम समावेश गरी तयार पार्नुपर्नेमा सो नगरी गोश्वारा नाम समावेश गरिएकोले संविधानको समानुपतिक समावेशी सिद्धान्त एवं निर्देशिका विपरित निर्वाचन गराइएको ठहर गरिएको छ ।
गैरकानूनी निर्वाचन बदर गराउन माग गर्दै लोकतान्त्रिक विद्यार्थी संघका केन्द्रिय सदस्य बाराको कलैया उपमहानगरपालिका वडा नम्बर–२५ वस्ने ३१ वर्षीय श्याम बिहारी साह केशरी र समाजवादी विद्यार्थी युनियनका केन्द्रीय अध्यक्ष सप्तरीको बोदेबर्साईन नगरपालिका वडा नम्बर–१० बस्ने ४३ वर्षीय रमेश कुमार यादवले आइतबार उच्च अदालत, जनकपुरमा रिट दायर गरेका छन् ।



तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


