अमेरिकाको चकलेट कारखानामा भीषण विष्फोट, तीनजनाको मृत्यु

एजेन्सी, १२ चैत । गत शुक्रबार साँझ अमेरिकाको पेन्सिल्भेनिया राज्यको चकलेट कारखानामा भएको भीषण विष्फोटमा तीनजनाको मृत्यु भएको छ । घटनामा चारजना बेपत्ता भएका छन् ।
उद्धारकर्मीले एकजनालाई जीवितै भग्नावशेषबाट उद्धार गरेका तथा हराएकाको खोजी जारी रहेको अधिकारीहरूले बताएका छन् ।राज्यको वेस्ट रिडिङ बरोमा रहेको आरएम पाल्मर कम्पनीको प्लान्टमा गत शुक्रबार साँझ भएको विष्फोटमा ज्यान गुमाएका बाहेक अन्य ६ जना घाइतेलाई अस्पताल पु¥याइएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
विष्फोट ज्यादै शक्तिशाली रहेको जानकारी दिँदै वेस्ट रिडिङका नगरप्रमुख सामन्था कागले भवन चार फिट अगाडि सरेको बताएका छन् । आधुनिक उपकरण र तालिम प्राप्त कुकुरको सहयोगमा खोजी जारी रहेको उवाल्दे प्रहरी महाशाखाले बताएको छ ।
कम्पनीले शनिबार राति एक विज्ञप्ति निकालेर घटनाबाट सबै कर्मचारी स्तब्ध भएका तथा पीडित कर्मचारीका परिवारको सहयोगमा उनीहरू केन्द्रित रहेका जनाउँदै तत्काल उद्धार र खोजमा असाधारण सक्रियता देखाएकामा सम्बद्ध सबैमा हार्दिक आभार व्यक्त गरेको छ ।
कम्पनीले आफ्ना नजिकका साथी र सहकर्मी गुमाएकामा दुःख व्यक्त गर्दै ७० वर्षभन्दा लामो समयदेखि बरोमा व्यवसाय गर्दा यस्तो अप्रिय घटना कहिल्यै नभएको बताएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


