जनकपुरधाम, ११ चैत । जनकपुरधामका जागरुक युवाहरु ‘आफ्नो ठाउँ आफैं सफा र स्वच्छ राखौं’ भन्ने ध्येयका साथ सरसफाइ अभियानमा निरन्तर जुटेका छन् ।

सोहीक्रममा शनिबार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–८ स्थित धार्मिक एवं पौराणिक श्मसान मोक्षद्वारमा स्थानीय युवाहरुको पहलमा सरसफाइ तथा बृक्षारोपण गरिएको छ ।

सरसफाइप्रति सचेतना बढाउन अभियान चलाइएको मोक्षद्वारका संरक्षक आदित्य ठाकुरले बताए । ‘सरसफाइप्रति स्थानीयबासीलाई जागरुक गराउन अभियान चलाएका हौं’ उनले भने ।

स्थानीयबासीले कम्तीमा आफ्नो घरअघिको बाटो सफा राख्ने र फोहोरलाई व्यवस्थित गर्न सकेमात्र टोल स्वच्छ रहने उनको भनाइ छ ।

उनले भने, ‘जीवनको सही आनन्द मानवले त्यतिबेला मात्र लिन सक्छन् जतिबेला उनी स्वस्थ रहन सक्छन् । आफूलाई स्वस्थ राख्न मानवले आफ्नो पहिलो प्राथमिकतामा सरसफाइ र स्वस्थ वातावरणलाई राख्नु पर्दछ । मानवको वरिपरिको वातावरणको स्वच्छ परिवेष आवश्यक छ । जुन हामी स्वयं गर्न सक्छौं । त्यसपछि मात्र समाज र राष्ट्रको परिवर्तन सम्भव छ ।’

कार्यक्रममा नेपाल पत्रकार महासंघ मधेस प्रदेशका उपाध्यक्ष ज्योति झाले आफ्नो घरगाउँ र टोलको सरसफाइ हाम्रो आफ्नै दायित्व रहेको बोध सबैले गर्नुपर्ने आवश्यकता रहेको बताइन् ।

सरसफाइ तथा बृक्षारोपणलाई सँगसँगै लैजाँदा विकासको महत्वपूर्ण पाटो पुरा गर्न मद्दत पुग्ने तथा जनसहभागितामै काम गर्दा अपनत्व समेत बढ्ने उनले बताइन् ।

सरसफाइ तथा बृक्षारोपण कार्यक्रममा महिला सरसफाइ अभीयानी एवं मिथी फाउण्डेशनका अध्यक्ष रुबी झा, जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–८ का वडाध्यक्ष दिनेश सिंह, मोक्षद्वारका सेवक गौतम झा, सुमित राउत, संजय साह, अनुराग चौधरी, दिपेन्द्र साह, विजय ठाकुर, आदित्य पाठक, लालू ठाकुरलगायतकाहरुको सक्रिय सहभागिता रहेको थियो ।