काठमाडौं, ११ चैत । आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गठबन्धन नगरी चुनाव लड्ने निर्णय गरेको छ ।

पार्टीको केन्द्रीय समिति बैठकले चितवन क्षेत्र नम्बर–२, तनहुँ क्षेत्र नम्बर–१ र बारा क्षेत्र नम्बर–२ मा गठबन्धन नगरी एक्लै उम्मेदवारी दिने निर्णय भएको रास्वपाका उपसभापति एवं संसदीय दलका नेता डोलप्रसाद अर्यालले जानकारी दिए ।

उक्त बैठकले उपनिर्वाचनका लागि प्रारम्भिक निर्वाचन प्रक्रिया सुरु गर्ने र तीन वटै क्षेत्रमा निर्वाचन परिचालन समिति गठन गर्ने निर्णयसमेत गरेको छ ।

निर्वाचन परिचालन समितिका लागि तनहुँमा पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटी, चितवनमा उपसभापति अर्याल र बारामा गणेश कार्कीलाई संयोजक तोकिएको रास्वपाले जनाएको छ ।