पोखरा, ११ चैत । नेपाली कांग्रेसले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको राजीनामा माग गरेको छ । गण्डकीमा नेकपा एमाले, माओवादी केन्द्र र राप्रपाको समर्थनमा एमालेका अधिकारी मुख्यमन्त्री नियुक्त भएका थिए ।

नेकपा माओवादी केन्द्रले सरकार छाडेर शुक्रबार मात्रै समर्थन फिर्ता लिएको थियो । त्यसको भोलिपल्ट कांग्रेसको गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले शनिबार पत्रकार सम्मेलन गरी मुख्यमन्त्रीलाई मार्गप्रशस्त गर्न आग्रह गरेका हुन् ।

शुक्रबार माओवादीले समर्थन फिर्ता लिएपछि प्रदेश सरकार अल्पमतमा परेको र बहुमत जुटाउने सम्भावना पनि नभएको पाण्डेले बताए । राष्ट्रपति निर्वाचनमा केन्द्रमा कांग्रेस, माओवादीसहितका दलको गठबन्धन बनेपछि प्रदेश सरकार अप्ठ्यारोमा परेको छ ।

यसरी गरेका निर्णयबाट भविष्यमा प्रदेशलाई आर्थिक लगायतको दायित्व सिर्जना भए त्यसको दायित्व नयाँ सरकारले लिन बाध्य नहुने पनि पाण्डेले बताएका छन् । उनले दूरगामी प्रकृतिका निर्णय नलिन र कार्यान्वयन नगर्न पनि प्रदेश सरकारलाई आग्रह गरेका छन् ।