जनकपुरधाम, ११ चैत । मधेस प्रदेशका आधा जनसंख्या कुनैपनि आर्थिक कार्यमा संलग्न नरहेको पाइएको छ ।

नेपालमा १० वर्षभन्दा बढी उमेर भएका २ करोड ३९ लाख ५८ हजार ८६८ जनामध्ये ३७.५ प्रतिशत नागरिक कुनैपनि आर्थिक काममा संलग्न नभएको पाइएको हो । यस्तो संख्या सबैभन्दा धेरै मधेसमा छ ।

राष्ट्रिय जनगणना २०७८ अनुसार मधेस प्रदेशमा कुनैपनि आर्थिक कार्यमा संलग्न नहुने नागरिक ४६.५ प्रतिशत रहेका छन् । कुनैपनि आर्थिक कार्यमा संलग्न नहुने नागरिकमध्ये ३८.३ प्रतिशत नागरिक बागमती प्रदेशका छन् ।

यस्तै लुम्बिनीमा ३७.२ प्रतिशत, गण्डकीमा ३७ प्रतिशत, सुदूरपश्चिममा ३२.२ प्रतिशत, कोशीमा ३१.३ प्रतिशत, कर्णालीमा ३०.८ प्रतिशत नागरिक कुनै पनि आर्थिक कार्यमा संलग्न नभएको तथ्यांकमा उल्लेख छ ।

जनगणनाअनुसार १० वर्ष वा सोभन्दा माथिका २ करोड ३९ लाख ५८ हजार ८६८ जनामध्ये १ करोड ४९ लाख ८३ हजार ३१० जना (६२.५ प्रतिशत) ले भने जनगणना भएको १२ महिना अगाडिको समयमा कुनै नकुनै आर्थिक काम गरेको देखिन्छ ।