जनकपुरधाम, ११ चैत । धनुषाको मिथिला नगरपालिका–३ हरिहरपुरमा शनिबार बिहान दुईवटा ट्रक एकआपसमा ठोक्किएर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना६ख ६५७८ नम्बरको ट्रक र विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश १–०१–००१ख ९२९२ नम्बरको ट्रक एकआपसमा ठोक्किएर दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा सुनसरीका २८ वर्षीय चालक सागर चौधरी, सहचालक अर्जुन चौधरी र मोरङका ४४ वर्षीय लोकमान श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।

उक्त दुर्घटनामा सर्लाहीका २० वर्षीय नारायण श्रेष्ठ घाइते भएका छन् । घाइतेको ढल्केवर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।