–बरूणा कर्ण

जनकपुरधाम, ११ चैत । धनुषाको नगराईन नगरपालिकाले आफ्ना पालिकाका महिला ज्येष्ठ नागरिक तथा छात्राहरूलाई सम्मान गरेको छ ।

नगराईन नगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले ११३औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा ३ जना छात्रा र ९ जना महिला ज्येष्ठ नागरिकलाई नगदसहित सम्मान गरेको हो ।

उपमेयर राधा देवी यादवको अध्यक्षता एवं नगरप्रमुख विनयकुमार यादवको प्रमुख आतिथ्यमा शनिबार आयोजित कार्यक्रममा पालिकाका प्रत्येक वडाबाट १÷१ जना गरी ९ जना महिला ज्येष्ठ नागरिक र प्रत्येक सामुदायिक माविबाट एसईई परीक्षामा उत्कृष्ट अंक ल्याएका १÷१ जना गरी ३ जना छात्रालाई ५÷५ हजार नगदसहित सम्मान गरिएको छ ।

नगरपालिकाका तिनवटा सामुदायिक विद्यालयबाट एसईई परीक्षामा उत्कृष्ट अंक ल्याएका १/१ जना गरी ३ जना छात्राहरू मावि नगराइनकी अस्मिता यादव, मावि फुलगामाकी शिवानी कुमारी साह र मावि गंगुलीकी रिया चौधरीलाई सम्मान पत्र र नगद ५ हजारसहित सम्मान गरिएको प्रमुख प्रशासकीय अधिकृत रामगुलाम कर्णले जानकारी दिए ।

त्यस्तै, प्रत्येक वडाबाट १/१ जना गरी ९ जना ज्येष्ठ नागरिकलाई पनि सम्मान पत्र र नगद ५ हजारसहित सम्मान गरिएको छ ।

वडा नम्बर–१ बाट ९२ वर्षीया फुस्री यादव, वडा नम्बर–२ बाट ९६ वर्षीया राधा देवी मण्डल, वडा नम्बर–३ बाट ९५ वर्षीया जया देवी, वडा नम्बर–४ बाट ८९ वर्षीया रतिया देवी, वडा नम्बर–५ बाट ८९ वर्षीया सावित्री देवी कर्ण, वडा नम्बर–६ बाट ८९ वर्षीया लुटन देवी, वडा नम्बर–७ बाट ९६ वर्षीया विजय लक्ष्मी देवी, वडा नम्बर–८ बाट ८८ वर्षीया शान्ती देवी र वडा नम्बर–९ बाट ८९ वर्षीया देवसुनैर देवीलाई नगदसहित सम्मान गरिएको हो ।