वन कार्यालय पर्साका सहायक वन अधिकृत यादव निलम्बित

पर्सा, १० चैत । डिभिजन वन कार्यालय पर्साका सहायक वन अधिकृत रामप्रसाद यादव निलम्बनमा परेका छन् ।
सेवाग्राहीसँग घुस लिइरहेको भिडियो प्रमाण फेला परेपछि उद्योग, पर्यटन तथा वन मन्त्रालयले अधिकृत यादवलाई अनुसन्धानका लागि भन्दै निलम्बन गरेको हो ।
हिरासतमा रहेको अभियुक्तका व्यक्तिसँग आर्थिक लेनदेन गरेको भनी विद्युतीय माध्यमबाट बुझिन आएकाले उनलाई ६० दिनका लागि निलम्बन गरिएको मन्त्रालयकी प्रवक्ता अन्जना कायस्थले जानकारी दिइन् ।
सहायक अधिकृत (९औँ तह)का यादव प्रदेश निजामती सेवा ऐन, २०७७ को दफा ८७ (२) बमोजिमको कसुर गरेको भन्दै सो विषयको छानविन तथा जाँचबुझ कार्यमा झुठा सबुत, प्रमाण संकलन गर्न सक्ने वा आफ्नो विरुद्धको सबूत प्रमाण गायब गर्न सक्ने सम्भावना रहेकाले उनलाई निलम्बन गरिएको मन्त्रालयले जनाएको छ ।
बाराको परवानीपुर गाउँपालिका वडा नम्बर–१ स्थित मुसहरी बस्ने जयनारायण साहविरुद्ध अवैध रुपमा वन पैदावार ओसारपसार मुद्दामा गत फागनु १६ गतेदेखि अधिकृत यादवले अनुसन्धान गरिरहेका थिए । गत चैत ६ गने अभियुक्त साह पक्राउ परे ।
‘जयनारायणले टयाक्टर अरुलाई भाडामा दिएका थिए । भाडामा लिने व्यक्तिले उनको गाडीबाट काठ ओसारपसार गरिरहेका थिए ।त्यसैक्रममा सवारीधनी पक्राउ परे । उनीसँग मुद्दा मिलाइदिने, पैसा नदिए जेल पठाइदिने भनेर धाकधम्की दिँदै अधिकृत यादवले झण्डै ४ लाख रुपैयाँ लिइसकेको विभिन्न अडियो प्रमाण आयो, मन्त्रालयका एक अधिकारीले भने, ‘प्रतिवादीले पैसा दिँदादिँदै तन्ग्रिएपछि ४० हजार रुपैयाँ घुस दिएको भिडियो बनाएर हामीलाई उपलब्ध गराइयो ।’
ती अधिकारीका अनुसार प्रमाण फेलापरेपछि राज्यमन्त्री रहबर अन्सारीको निर्देशनमा यादवलाई कारबाही प्रक्रिया अघि बढाइएको हो ।

