एमालेका चार मन्त्रीले दिए बागमती सरकारबाट राजीनामा

हेटौंडा, १० चैत । नेकपा एमालेका चारजना मन्त्रीले बागमती प्रदेश सरकारबाट राजीनामा दिएका छन् ।
सरकारमा सहभागी एमालेका चारजना मन्त्रीहरु जगन्नाथ थपलिया, एकलाल श्रेष्ठ, केशवप्रसाद पोखरेल र रामेश्वर श्रेष्ठले प्रदेश सरकारबाट राजीनामा दिएका हुन् ।
उनीहरुले शुक्रबार प्रदेशसभा सचिवालय हेटौंडामा मुख्यमन्त्री शालिकराम जम्कट्टेल समक्ष राजीनामा बुझाएका हुन् । शुक्रबारको बैठकमा सरकारको समर्थन र राजीनामा घोषणा गरेको एमालेले प्रदेशसभा बैठक सञ्चालनकै क्रममा मुख्यमन्त्री जम्कट्टेल समक्ष राजीनामा बुझाएका हुन् ।
नेकपा एमाले गत पुस २६ गते बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाको नेतृत्वमा प्रदेश सरकारमा सहभागी भएको थियो । नेता थपलियाले शुक्रबारको प्रदेशसभाबाट बोल्दै गरेर सरकारबाट बाहिरिएको र सशक्त प्रतिपक्षको भूमिकामा रहने घोषणा गरेका थिए ।
नेता थपलिया प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री थिए भने एमालेका एकलाल श्रेष्ठ श्रम रोजगार तथा यातायातमन्त्री, केशवप्रसाद पोखरेल कृषि पशुपन्छी विकास मन्त्री र रामेश्वर श्रेष्ठ स्वास्थ्यमन्त्री नियुक्त भएका थिए । एमालेका ३ जना मन्त्री गत माघ १० गते नियुक्त भएका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


