आसिफ शेखलाई पनि दुई लाख दिने मधेस प्रदेश सरकारको घोषणा

जनकपुरधाम, १० चैत । मधेस प्रदेश सरकारले अन्तर्राष्ट्रिय खेलाडी आसिफ शेखलाई पनि दुई लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरेको छ ।
बेलायतको प्रसिद्ध मेरिलबर्न क्रिकेट क्लवले यसै साता आसिफलाई ‘क्रिस्टोफर मार्टिन जेन्किन्स स्पिरिट अफ क्रिकेट अवार्ड’ दिएपछि प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश र देशको शिर ठाडो पार्ने आसिफलाई सो रकम प्रदान गर्ने घोषणा गरेका हुन् ।
उदाहरणीय खेल भावनाको परिचय दिँदै विश्वभरिका क्रिकेटप्रेमीहरुको मन जितेर प्रदेश र देशको प्रतिष्ठा बढाएकोमा उच्च कदर गर्दै प्रदेश सरकारले सम्मानस्वरुप आसिफलाई सो रकम प्रदान गर्न लागेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार सीताराम अग्रहरिले जानकारी दिए ।
पर्साको वीरगञ्ज महानगरपालिका निवासी आसिफले २०२२ फेब्रुअरी १४ मा आयरल्याण्डविरुद्धको टी–२० अन्तर्राष्ट्रिय खेलमा आयरिस खेलाडी एण्डी म्याकब्रायनलाई रन आउट गर्ने अवसर पाउँदा पनि खेलभावना देखाउँदै रनआउट नगरेपछि आइसीसीले आसिफलाई ‘आईसीसी स्पिरिट अफ क्रिकेट अवार्ड २०२२’ समेत प्रदान गरेको थियो ।
सो म्याचमा एण्डी म्याकब्रायन नेपाली बलर कमलसिंह ऐरीसँग जुधेर लडेपछि आसिफको हातमा बल आएको थियो । रनआउट गर्ने सहज मौका हुँदा पनि उनले रनआउट गरेनन् । आइसीसीले आसिफको खेलभावनाको उच्च सम्मान गर्दै वर्षको ‘आईसीसी स्पिरिट अफ क्रिकेट अवार्ड’ प्रदान गरेको थियो ।
सोही सन्दर्भमा अस्ट्रेलियाको फक्स स्पोर्टस्लेसमेत ‘ब्रिलिएन्ट स्पोर्टस्म्याानसिप फ्रम नेपाल’ भनेर आसिफको प्रशंसा गरेको थियो । हालै सम्पन्न आइसीसी क्रिकेट विश्वकप लिग–२ को अन्तिम खेलमा युएईविरुद्ध आसिफले उत्कृष्ट प्रदर्शन गर्न नसकेपनि अघिल्ला खेलहरुमा उल्लेखनीय प्रदर्शन गरेका थिए ।
मधेस प्रदेश सरकारले यसअघि गुलशन झा र आरिफ शेखलाई पनि जनही दुई÷दुई लाख प्रदान गर्ने घोषणा गरिसकेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


