सर्लाही, १० चैत । सर्लाहीको पर्सा गाउँपालिकामा ६ दिने योग शिविर सञ्चालन भएको छ ।

पर्सा गाउँपालिकाको सहयोग तथा आयुर्वेद शाखाको आयोजनामा वडा नम्बर–२ स्थित नेपाल राष्ट्रिय बैजु जनता मावि संग्रामपुरमा शुक्रबारदेखि ६ दिने योग शिविर सञ्चालन भएको हो ।

वडा नम्बर–२ का वडाध्यक्ष राकेश रामको अध्यक्षता र गाउँपालिकाका अध्यक्ष धिरेन्द्र राय (बिस्पत)को प्रमुख आतिथ्यमा सुरु भएको योग शिविरमा बोल्दै अध्यक्ष रायले अहिलेको व्यस्त समयमा मानिस दिनानुदिन विभिन्न प्रकारका नयाँ रोगहरुले ग्रसित भइरहेको बेला रोगबाट बच्न सबैभन्दा सरल र सस्तो उपचारको रुपमा योगाभ्यास रहेको बताए । उनले योगले विस्तारै समाजमा राम्रो स्थान पाउन लागेको दाबीसमेत गरे ।

योग शिविरको प्रशिक्षकको रुपमा योग गुरु धिरेन्द्र साह, राजाराम ठाकुर, सुजित साह सहभागी छन् ।

शिविरमा गाउँपालिकाका उपाध्यक्ष नुतन देवी मण्डल, वडा नम्बर १ देखि ६ सम्मका वडाध्यक्ष, नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज मधेस प्रदेशका अध्यक्ष वरिष्ठ कविराज निरीक्षक रामछविला राय, बसबरिया गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चुनचुन यादव, हरिपुर्वा आयुर्वेद शाखा प्रमुख डा. संजय कुमार यादव ,रामनगर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण यादवसहित पालिकाका समाजसेवी, महिला स्वंयसेविका, कर्मचारी, स्थानियबासीको उपस्थितिमा शिविर सञ्चालन भएको पर्सा गाउँपालिकाको आयुर्वेद शाखा प्रमुख कविराज निरीक्षक नवीन यादवले जानकारी दिए ।