काठमाडौं, ९ चैत । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा मधेस प्रदेशबाट ७९ हजार ९४ जना विद्यार्थी सहभागी हुने भएका छन् ।

शिक्षा विकास निर्देशनालय जनकपुरधामले प्रदेशभरिका जिल्लाका गरी २७८ वटा परीक्षा केन्द्र निर्धारण गरेको हो ।

परीक्षालाई मर्यादित, अनुशासित र निष्पक्ष रूपमा सम्पन्न गराउन निर्देशनालयले आग्रह गरेको छ । मधेस प्रदेशका ८ जिल्लामध्ये सबभन्दा बढी विद्यार्थी संख्या धनुषामा छन् । यहाँ ४१४ प्रविधितर्फ १२ हजार १४६ विद्यार्थीले एसइई परीक्षामा सामेल हुन योग्य ठहरिएको छ ।

धनुषामा परीक्षार्थीका लागि ४३ वटा परीक्षा केन्द्र तोकिएको छ । त्यस्तै, सबभन्दा कम विद्यार्थी संख्या रौतहट जिल्लामा छ । यहाँ २३१ प्राविधिकतर्फसहित ८ हजार ९५७ विद्यार्थी एसइई परीक्षामा सहभागी हुने भएका छन् । यहाँ ३५ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ ।

यसैगरी, १० हजारभन्दा बढी र ११ हजारभन्दा कम संख्या विद्यार्थी भएको दुईवटा जिल्ला छन् । सिरहामा २४९ प्राविधिक विद्यार्थीसहित १० हजार १५० जना विद्यार्थी छन् । यहाँ ४० वटा परीक्षा केन्द्र तोकिएको छ ।

सर्लाहीमा २९२ प्राविधिकतर्फसहित १० हजार ९१६ विद्यार्थीका लागि ३७ वटा परीक्षा केन्द्र निर्धारण गरिएको शिक्षा विकास निर्देशनालय जनकपुरधामका निर्देशक चूडामणि फुयाँलले जानकारी दिए ।

यीबाहेक चारवटा जिल्लामा ९ हजारभन्दा बढी र १० हजारभन्दा कम संख्यामा विद्यार्थी एसइई परीक्षामा सहभागी जनाउँदै छन् । सप्तरीमा प्राविधिकतर्फ २९२ सहित ९ हजार ५२५ विद्यार्थी छन् ।

यहाँ ३६ वटा परीक्षा केन्द्र तोकिएको छ । महोत्तरीमा प्राविधिकतर्फ ४३६ समेत गरी ९ हजार ९४ विद्यार्थीको लागि ३१ परीक्षा केन्द्र, बारामा ३७८ प्राविधिकतर्फसहित ९ हजार १७९ विद्यार्थीका लागि ३२ परीक्षा केन्द्र र पर्सामा १८५ प्राविधिकतर्फका गरी ९ हजार १६५ विद्यार्थीले एसइईमा सहभागी हुनेछन् । त्यहाँ २५ वटा परीक्षा केन्द्र तोकिएको छ ।