जनकपुरधाम, ९ चैत । जनकपुरधाममा सम्पन्न अन्तर कलेज स्तरीय क्रिकेट प्रतियोगिताको उपाधि मोनाष्टिक कलेजले जितेको छ ।

बिहीबार भएको फाइनल खेलमा मोनाष्टिक कलेजले विपी मिमोरियल कलेजलाई १ विकेटले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो ।

टस जितेर पहिले ब्ब्याटिङ्ग गरेको विपी मिमोरियलले १९ ओभर ४ बलमा १ सय रन बनाएको थियो । विपीका लागि पवन सर्राफले ३२ र केशव झाले २१ रन बनाए ।

यता, मोनाष्टिकका लागि सिद्धान्त लोहनीले उत्कृष्ट बलिङ्ग गर्दै ४ ओभरमा १३ रन खर्चेर ४ विकेट लिएका थिए । त्यस्तै, रुपेश सिंहले २ विकेट लिए ।

१०१ रनको लक्ष्यसहित मैदानमा उत्रेको मोनाष्टिक १८ ओभर ४ बलमा ९ विकेटको क्षतिमा लक्ष्य भेटाएको थियो । उसका लागि रञ्जित यादवले २२ र सिद्धान्त लोहनीले २१ रन बनाएका थिए ।

विपीको बलिङ्गमा पवन सर्राफले २ र राहुल प्रसाद चौधरीले २ विकेट लिए । फाइनल खेलको म्यान अफ द म्याच मोनाष्टिकका सिद्धान्त लोहनीले प्राप्त गरेका छन् ।

प्रतियोगिताको एर्मजिङ्ग प्लेयर मिट कलेजका तेजस मण्डल, बेस्ट बलर र म्यान अफ द सीरिज विपी मेमोरियलका अखिलेश ठाकुर भएका थिए । समग्र प्रतियोगितामा ठाकुरको प्रर्दशन उत्कृष्ट रहेको आयोजक संस्थाले जनाएको छ ।

यस्तै, वेस्ट किपर राजर्षी क्याम्पसका अकबर अलि, क्याच अफ द टुर्नामेन्ट विक्रान्त यादव, वेस्ट फिल्डर नागेन्द्र अधिकारी र फेयर प्लेयर मिट कलेजका खेलाडीलाई दिइएको थियो ।